सूचनाको शक्ति - The Power Of Information

        

‘कोभिसिल्ड’

१० लाख ‘कोभिसिल्ड’ खोप ल्याइंदै, ५५ वर्ष भन्दामाथिका व्यक्तिलाई लगाइने

देशभरका खोप केन्द्रमा वितरण गरिने

काठमाडौं । कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोपको थप १० लाख मात्रा आइतबार नेपाल ल्याइने भएको छ । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप खरिद गरेर सरकारले पहिलो चरणमा १० लाख मात्रा ल्याउन लागेको हो ।

सरकारले प्रति डोज ४ डलरमा २० लाख खोप किन्ने सम्झौता गरिसकेको छ । सम्झौता अनुसार पहिलो चरणमा १० लाख डोज खोप आज एयर इन्डियाको विमान मार्फत दिल्लीबाट काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गरिनेछ ।

फागुन २३ गतेदेखि संचालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप ५५ वर्षभन्दामाथिका व्यक्तिलाई लगाइने छ । यसअघि भारतले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप गत माघ १४ गतेबाट लगाउन थालिएको हो ।

सरकारले अहिले स्वास्थ्यकर्मी, कर्मचारी र अग्रपङ्क्तिमा काम गरिरहेका कर्मचारीलाई खोप दिइरहेको छ । यसैगरी पहिलो चरणको खोप अन्तर्गत दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउने अभियान भोलिसम्म थपिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतवार ०८:३३