सूचनाको शक्ति - The Power Of Information

        

बुटवलमा जुत्ता व्यापार मेला, करोडको कारोबार हुने अनुमान

रेनुका गिरी । बुटवल । बार्षिक कुल ३५ अर्बको जुत्ता चप्पल खपत हुने नेपालमा बार्षिक १५ अर्बको जुत्ता चप्पल बिभिन्न देशबाट आयात हुने गरेको छ । पहिले ७० प्रतिशतसम्म जुत्ता चप्पल आयात हुने नेपालमा अहिले भने ३० प्रतिशत मात्र आयात हुने गरेको छ । आयात घटाउने लक्ष सहित केही बर्षयता नेपालमै गुणस्तरीय जुत्ता उत्पादन हुन थालेपछि आयातमा कमी आएको हो ।
यसैक्रममा उपभोक्तालाई स्वदेशी उत्पादनको पहिचान गराई उपभोग गर्न आकर्षित गर्ने र बजार प्रबद्र्धन समेत गर्ने उद्देश्यले बुटवलमा तेश्रो जुत्ता व्यापार मेला २०७४ आयोजना गरिएको छ । युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा सञ्चालन भएको सो जुत्ता मेलामा नेपालमा उत्पादित बिभिन्न ११ वटा कम्पनीका ३० प्रकारका जुत्ता चप्पल बिक्रीका लागि राखिएको छ ।
माघ १८ गतेसम्म सञ्चालन हुने सो जुत्ता चप्पल ब्यापार मेलामा १ करोडको कारोबार हुने र कुल २५ हजारले मेला अवलोकन गर्ने अनुमान गरिएको मेला आयोजक समितिले जनाएको छ । सो मेलाले नेपाली उत्पादनको गुणस्तरबारे आम उपभोक्तालाई जानकारी गराई स्वदेशी बस्तु प्रयोग गर्न अभिप्रेरित गर्ने बिश्वास गरिएको छ । नेपाली उत्पादनको गुणस्तर प्रति बिश्वास दिलाउने, मुल्यबारे जानकारी गराउने, उपयोग गर्न अभिप्रेरित गर्ने र स्वदेशी उत्पादन र उत्पादकलाई प्रोत्साहित गर्ने मेलाको मुल उद्देश्य रहेको आयोजक समितिले जनाएको छ ।
हाल नेपालमा बार्षिक करिब ३५ अरबको जुत्ता चप्पल खपत हुन्छ । जसको ७० प्रतिशत नेपाली उत्पादनले धानेको र ३० प्रतिशत मात्र विदेशी उत्पादन नेपाली जुत्ता बजारमा पुग्ने गरेको व्यवसायीहरु बताउँछन् । बिगतमा ९० प्रतिशतसम्म विदेशी जुत्ता प्रयोग गर्ने नेपालीहरु अहिले स्वदेशी जुत्ताप्रति आकर्षित हुनुले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास उत्पादकहरुले गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७४, बुधबार ०४:२४