सूचनाको शक्ति - The Power Of Information

        

रामचन्द्र पौडेल आजबाट साताव्यापी पूर्वी तराईको भ्रमणमा

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन् । पौडेलले पूर्वी तराईका जिल्लाको भ्रमणका लागि आजै विहान सवा ८ बजे बुद्ध एयरको विमानबाट विराटनगर प्रस्थान गरेका हुन् ।

पौडेल फागुन ७ गतेदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए । पौडेल आज सुनसरीको धरान पुग्ने छन् ।

पौडेलले धरान उपमहानगरपालिका कार्यक्रममा सहभागि भएपछि सोहि उपमहानगरपालिका निर्माण भएको वीपी पार्कको उदघाटन गर्ने कार्यक्रम रहेको छ । फागुन ८ गते सुनसरीको सदरमुकाम इनरुवामा विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै पौडेलले फागुन ९ गते इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । इटहरीमा भेटघाट सकेर पौडेल फागुन ९ गते नै सप्तरीको राजविराज पुग्ने छन् । फागुन १० गते सप्तरीका सबै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् ।

सिरहा र सप्तरीको सबै कार्यक्रममा हुलाकी राजमार्ग क्षेत्रमा केन्द्रीत हुने बताइएको छ । सप्तरीमा विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम रहेको छ  ।

सिरहामा पौडेलले फागुन ११ गते आयोजित सिरहाका सबै निर्वाचन क्षेत्रमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।त्यस्तै फागुन १२ गते पौडेलले धनुषामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पौडेल प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लाहरुमा आयोजित आमसभालाई सम्बोधन गरी फागुन १३ गते काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पौडेलले सोही क्षेत्रका जिल्ला दौडाहा गर्नुलाई चासोका साथ हेरिएको छ ।

बिहीबार २०७८ भदौ दोस्रो साताका लागि  चौधौं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएपछि उनी जिल्ला भ्रमणमा निस्किएका छन् । यस्तै प्रधानमन्त्री केपी ओलीले पुस ५ मा संसद विघटन गरेपछि पौडेल विगतको तुलनामा बढी सक्रिय भएका छन् ।

संसद पुनःस्थापना  हुनुपर्ने पौडेलको माग छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार ०९:२६