सूचनाको शक्ति - The Power Of Information

        

२३ सय अनलाइन सञ्चारमाध्यम दर्ता

तस्वीर : सूचना तथा प्रसारण विभागको फेसबुकबाट ।

काठमाडौं । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको संख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मंसिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४० वटा) ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।

आव २०७५/०७६ मा ५५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ भने १७ वटा पुनः दर्ता गरिएको छ । २७२ नवीकरण गरिएको छ । आव २०७६/०७७ मा ५६१ नयाँ अनलाइन दर्ता गरिएको छ । सो अवधिमा २७२ वटा नवीकरण गरिएको छ । हालसम्म दुई हजार ३२५ अनलाइन दर्ता भएका छन् ।

दैनिक, अर्थ साप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्थ वार्षिक र वार्षिक गरी सात हजार ८०७ पत्रपत्रिका दर्ता गरिएको छ । प्रसारण विभागका अनुसार हालसम्म एक हजार १२७ एफएम रेडियो र २०२ टेलिभिजन च्यानलले इजाजत पाएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा अनलाइन पत्रकारिता मूलधारको पत्रकारिताको रूपमा विकास भएका कारण पनि व्यावसायिक र विश्वसनीय बन्न जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले अनलाइन पत्रकारिता मूलधारको पत्रकारिता बनेको छ । तर, यसको संख्या बढ्यो, गुणस्तर भने बढ्न सकेन । सबै होइन, कतिपय अनलाइनले पत्रकार आचारसंहिता विपरीत समाचार प्रकाशन गरिएको पाइएको छ, त्यसलाई आचारसंहिता पालना गराउँदै नियमन गर्नुपर्छ ।’

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार १०:१९