सूचनाको शक्ति - The Power Of Information

        

आत्मनिर्भर बनाउन सीप विकास तालिम

बझाङ । घरेलु तथा साना उद्योग कार्यालयले युवालाई आत्मनिर्भर बनाउन बुंगल नगरपालिकामा आधारभुत कम्प्युटर तालिम र थलारा गाउँपालिकामा मोबाइल मर्मत तालिम सञ्चालन गरेको छ । बुंगल नगरपालिका–६ मा सञ्चालन गरिएको तालिममा त्यहाँका बेरोजगार महिला रहेको र थलारा गाउँपालिका–५ मा सञ्चालन गरिएको मोबाइल मर्मत तालिममा बेरोजगार युवा रहेको घरेलु कार्यालयका उद्यम विकास सहजकर्ता दशरथ जप्रेलले बताए ।

आधारभुत कम्प्युटर तालिम २ महिनासम्म सञ्चालन हुनेछ भने मोबाइल मर्मत तालिम ४५ दिनसम्म सञ्चालन हुने जप्रेलले बताए । तालिमका सहभागीहरुले सीप सिकेर आत्मर्निभर हुने बताएका छन् । दुबै तालिममा २४ जना सहभागी छन् । यो समयमा कम्प्युटर सीपको धेरै आवश्यक र माग भएका बेला घरेलु कार्यालयले महिलालाई लक्षीत गरेर तालिम दिँदा आफुलाई खुसी लागेको तालिममा सहभागी रिता भण्डारीले बताइन् ।

तालिमको एक औपचारिक कार्यक्रम गरी उदघाटन गरिएको थियो । कार्यक्रममा घरेलु कार्यालयका उद्योग अधिकृत खडक बोहरा, वडा सदस्य तित कुँवर रहेका थिए । घरेलु कार्यालयले यसअघि पनि बेरोजगार युवाका लागि पनि आत्मर्निभर भई स्वरोजगार हुने खालका विभिन्न सीप उद्यम विकास तालिम दिँदै आएको छ । साथै साना लघु तथा घरेलु उद्योगका लागि पनि कार्यालयले सहयोग गर्दै तथा सामाग्री हस्तान्तरण समेत गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ०८:०५