सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटनः आजदेखि एमिकस क्युरीको बहस

काठमाडौं ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस सोमबार सकिएसँगै मंगलबारदेखि एमिकस क्युरीको बहस सुरु हुँदैछ। मङ्गलबारदेखि अदालतका सहयोगी (एमिकस क्युरी)को बहस  हुने भएको हो।

एमिकस क्युरीको बहसपछि निर्णय आउने छ। एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन्।

उनीहरुले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिने छन्। गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको घोषणा गरेपछि त्यसको विरोध हुँदै आएको छ ।

त्यसपछि विघटविरुद्ध परेका रिटमाथि हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलाशमा सुनुवाई हुँदै आएको छ ।

सुरुमा पक्षको बहस दुई हप्ता भएपछि सरकार पक्षले प्रतिरक्षा बहस गरेको थियो । त्यसपछि रिट निवेदकको तर्फबाट वकिलहरुले प्रतिउत्तर बहस गरेका थिए ।

रिट निवेदकका वकिलहरुले प्रधानमन्त्रीसँग संसद विघटनको अधिकार नरहेको र विघटनको निर्णय असंवैधानिक रहेको जिकिर गरेका छन् ।

सरकार पक्षका वकिलले भने प्रधानमन्त्रीमा संसद विघटनको विशेष अधिकार हुने दाबीसहित बहस गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार ०८:५६