दार्चुला । महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडक निर्माणका लागि नेपाली सेनाको टोली व्यास पुगेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख सेनानी उज्ज्वल राणाको नेतृत्वमा दक्ष प्राविधिक जनशक्तिसहितको टोली निर्माणस्थलमा पुगेको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ । गत साउन अन्तिम साता दार्चुलाको सदरमुकाम खलङ्गा पुगेको नेपाली सेनाको टोली सडक निर्माणका लागि माघ ३० गते खलङ्गाबाट प्रस्थान गरेको थियो ।
सो टोली शनिबार निर्माण स्थलमा पुगिसकेको छ । निर्माणका लागि आवश्यक प्रक्रिया पूरा भएसँगै नेपाली सेनाको टोली आवश्यक बन्दोबस्तीका सामग्रीसहित व्यास गएको हो । दार्चुला पुगेको निर्माण सामग्री तथा बेस क्याम्प निर्माणका लागि चाहिने आवश्यक सामग्रीसमेत व्यास पठाइएको नेपाली सेनाले जनाएको छ । व्यास क्षेत्रका दुई स्थानमा बेस क्याम्प स्थापना गरेर सडक निर्माणको काम सुरु गर्न तयारी थालिएको प्रमुख सेनानी राणाले बताए ।
नेपाल सरकारले घाँटीबगरदेखि टिङ्करसम्म ८७ किलोमिटर सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सोहीअनुसार नेपाली सेनाको टोली निर्माणस्थल पुगिसकेको छ । खलङ्गादेखि व्यास गाउँपालिका–३ सम्म दार्चुला–टिङ्कर सडक योजनाले ४३ किलोमिटर सडकको ट््याक खोलेको छ । बाँकी ८७ किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाको टोली अहिले निर्माणस्थलमा पुगेको हो ।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले यसअघि सेनाले घाँटीबगर इलाकाको घोडेटो बाटो पूरा गरे पनि अहिले भने अर्कै बाटो हुँदै सडक निर्माण गर्न लागेको जानकारी दिए । २०७७ वैशाख २४ गतेको मन्त्रिपरिषद्को निर्णयले सेनालाई सो सडक निर्माण गर्ने जिम्मेवारी दिएको थियो । सडक निर्माणका लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुईवटा बेस क्याम्प राख्ने तयारी गरेको छ । पहिलो क्याम्प सुन्सेराभन्दा तीन किलोमिटर अघि रहेको छ । दार्चुला सदरमुकामबाट सुन्सेरा ४० किलोमिटर दूरीमा छ ।
सुन्सेराबाट तीन किलोमिटर अगाडिसम्मको बाटो यसअघि नै सडक विभागले खनिसकेको छ । सेनाले दोस्रो क्याम्प राख्न लागेको दुम्लिङ कोठेधारबाट १८ किलोमिटर माथि पर्छ । यस्तै छाङरु–टिङ्करसम्म पुग्नका लागि घोडेटो बाटो निर्माणको काम पनि सँगसँगै अघि बढ्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको डोलीडारले बोलपत्र आह्वान गरेको छ । अब व्यास गाउँपालिका–१, छाङरु–टिङ्करसँगै कालापानी क्षेत्रमा पुग्न सडक र घोरेटो बाटो निर्माणको काम एकसाथ अघि बढ्ने सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले बताए ।
।