सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन कार्यतालिका खोई ?

निर्वाचन आयोगप्रति देउवाको शंका, ‘आयोगले बदमासी गर्न सक्छ’

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको भूमिकाप्रति शंका व्यक्त गरेका छन् । निर्वाचनको मिति नजिकिँदा पनि आयोगले कार्यतालिका सार्वजनिक नगर्नु शंकास्पद विषय भएको देउवाको भनाई थियो ।

काँग्रेस रुपन्देहीले भैरहवामा गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले भने, ’ओलीले संसद विघटन गरेको छ । संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ । तर निर्वाचन आयोगले अझै किन कार्यतालिका ल्याउँदैन ?’ जेठको अन्त्यसम्म चुनाव गराउनैपर्ने बाध्यता रहेको दाबी गर्दै देउवाले आयोगले चाँडो कार्यतालिका ल्याउनुपर्ने बताए ।

‘जेठको अन्त्यसम्म चुनाव गर्नैपर्छ । तर निर्वाचन आयोग चुनाव गराउँछु भनेर बोलेकै छैन । बदमासी गर्न सक्छ आयोगले,’ देउवाको प्रश्न थियो, ‘किन बोल्दैन निर्वाचन आयोग ? म यहीबाट भन्न चाहन्छु । ओलीले वैशाखसम्म चुनाव गराउँछु गराउँछु भनेको छ । निर्वाचन आयोगले किन बोल्दैन । शंका गर्नुपर्ने बेला भएको छ ।’

प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भए पनि यसको पुनःस्थापनाबारे भने देउवाले मुख खोलेका छैनन् । आजको विरोध सभामा पनि देउवाले यस विषयमा अदालतको विचाराधीन मुद्दा भएकाले बोल्न नमिल्ने भनाई दोहोर्याए । ‘अदालतको विचाराधीन मुद्दामा यसो गर उसो गर भन्न मिल्दैन नि । अदालतको निर्णय हुन दिउँ ।’ देउवाले अदालतले न्याय नदिए त्योभन्दा ठूलो अदालत जनता भएको बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १६:०५