काठमाडौं । नेकपा प्रचण्ड–माधव समुहले निर्वाचन आयोगलाई दलको विवादबारे टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगको छलफलमा सो पार्टीका नेता लिलामणि पोखरेलले यस्तो धारणा राखेको सञ्चारकर्मीलाई जानकारी दिए ।
उनले भने, ‘६४ प्रतिशत मत भएको राजनीतिक दलको विवादसम्बन्धी प्रश्नहरु हल नगरी कसरी निर्वाचन सम्पन्न हुन्छ ? नेकपासँग ६४ प्रतिशत मत छ । त्यसको विवाद हल नगरी निर्वाचन अघि बढ्न सक्दैन’, छलफलमा आफुले राखेको धारणाबारे पोखरेलले जानकारी दिए । पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयपछि नेकपा दुई धु्रवमा विभाजित छ । केपी शर्मा ओली पक्ष र प्रचण्ड–माधव पक्षगरी विभाजित नेकपाको आधिकारिकताबारे निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन ।
‘माघ १२ गते निर्वाचन आयोगले हामीलाई जुन पत्र दिएको थियो । त्योभन्दा अगाडि हाम्रो केन्द्रीय समिति बैठक बसेर केपी शर्मा ओलीलाई पार्टीको अध्यक्षबाट हटाइसकेपछि अभिलेखीकरण गर्न आयोगमा हामीले पठायौं । तर आयोगले माघ १८ मा पार्टी एकता गर्दाको ४४१ को संख्यालाई मान्यता दिन्छौ र त्यो भन्दा पछाडिका निर्णयलाई मान्यता दिन सकिदैन भन्यो’ पोखरेलले भने, ‘आयोगको यो कुरालाई आधारित बनाएर हामीले २० गते दावी विरोध गर्यौ । त्यसपछि बल्ल आधिकारिकता विवाद आयोगमा प्रवेश भयो ।’
तर यसमा आयोगले कुनै निर्णय गरेको छैन । आइतबारको छलफमा पनि प्रचण्ड माधव पक्षले आयोग सरकारको लाचार छायाँ बन्न लागेको भन्दै त्यसो नगर्न सुझाव दिएको छ । सरोकारवालाहरुका अनुसार निर्वाचन आयोग मुख्यगरी दुई वटा काम गर्नुपर्ने हुन्छ । त्यो भनेको निर्वाचन प्रयोजनका निम्ती दलहरुको दर्ता र आयोगमा दलहरुको बारेमा विवाद आयो भने त्यसको निरुपण गर्ने हो ।
त्यसैगरी निर्वाचन सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधिहरुलाई शासनसत्ता सञ्चालन गर्ने प्रमाणसहित आधिकारिकता दिने हो । ‘यस्तो अवस्थामा आयोगले दलसम्बन्धी विवादबारे परेको विषयमा मैले निरुपण गर्न सकिनँ, मैले गरिन भन्न मिल्दैन’नेता पोखरेलको भनाई छ । प्रचण्ड माधव पक्षले उठाएको यो विषयमा आयोग र त्यसका पदाधिकारी मौन छन् । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली आयोग पुगेर निर्वाचन प्रक्रिया अघि बढाउन दवाव दिएका थिए ।
।