सूचनाको शक्ति - The Power Of Information

        

भागरथी हत्या अनुसन्धान

एघार दिन बित्यो, हत्यारा भेटिएन

बैैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको ११ दिन पुगेको छ । गत माघ २२ गते बीभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जंगलमा भागरथीको शव फेला परेको थियो । ११ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । अनुसन्धानकै क्रममा रहेको अझै पनि बताइरहेको छ ।

दोषी पत्ता लाग्छ भन्ने कुरा ढुक्क हुन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआइजी उत्तमराज सुवेदीको भनाइ छ तर कहिलेसम्म पत्ता लाग्ने भन्ने कुरा खुलाउन चाहेनन् । उनले भने, ‘हिजोअस्तिको भन्दा अनुसन्धान साघुँरिँदै गएको छ, छिट्टै दोषी पत्ता लाग्छ ।’ घटनास्थलमा भेटिएका विभिन्न प्रमाणका आधारमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

‘घटनाको बृहत र सूक्ष्म अनुसन्धानपछि अपराधी पत्ता लगाउने कुराको नजिक पुगेका छौं,’ उनले थपे, ‘विभिन्न कोणबाट अध्ययन र अनुसन्धान गर्दा एकदमै नजिक पुगेका हौं ।’ भागरथीले प्रयोग गरेको मोबाइल लगायत प्रमाणले अनुसन्धानमा सहज भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, ‘अनुसन्धान साघुँरिँदै गएको छ, हामी छिट्टै अपराधीलाई सार्वजनिक गर्छौं ।’

घटनाको ११ दिन भइसक्दा पनि अझै भागरथीको दाहसंस्कार हुन सकेको छैन । आफन्तले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका छन् । गत शनिबार शव परीक्षण सम्पन्न भए पनि अझै जिल्ला अस्पतालमै छ । आफन्तले शव बुझ्न नमान्दा अस्पतालमा शव सुरक्षित राख्न समस्या भएको छ । अस्पतालमा शव सुरक्षित राख्ने कर्मचारी नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले बताए ।

घटनास्थल तथा भागरथीको शवबाट अनुसन्धानका लागि चाहिने आवश्यक प्रमाण संकलन भइसकेकाले शव बुझ्न प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरेका छन् । घटनाको अनुसन्धान गर्न डीआइजी सुवेदी नेतृत्वको टोली खटिएको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक छन् ।

दोषी पत्ता नलागेको भन्दै यता शान्तिपूर्ण रुपमा आन्दोलन पनि जारी छ । बैतडीमा दैनिकजसो प्रदर्शन भइरहेका छन् । अपराधीलाई यथाशीघ्र पत्ता लगाइ कानुनी कारबाही माग गर्दै शान्तिपूर्ण आन्दोलन कार्यक्रम भइरहेका भागरथी न्यायका लागि गठित संघर्ष समितिका सदस्य महेशदत्त भट्टले बताए । प्रहरीले भने अनुसन्धान गर्न समस्या हुने भन्दै आन्दोलनमा कार्यक्रम नगर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतवार ०८:४४