सूचनाको शक्ति - The Power Of Information

        

उदयपुरमा श्रीमानको हत्या, श्रीमतीको अवस्था गम्भीर

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट शिवालय टोलमा शनिबार बिहान एक पुरुषको घरमै हत्या भएको छ भने उनकी श्रीमतीको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार यसरी हत्याको आशंकामा मृत भेटिएका पुरुष गाईघाट शिवालय टोलका ६६ वर्षीय वीरेन्द्र राई रहेका छन् ।

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा निलडाम र चोट रहेको प्रहरी उपरीक्षक (एसपी) भीमप्रसाद दाहालले बताए । यस्तै मृतककी श्रीमती ५४ वर्षीय रीता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घरनजिकै बारीमा फेला परेपछि अहिले तत्काल उपचारका लागि विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरुका समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र निजकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ । केही व्यक्तिहरुसँग निजकी श्रीमतीको झगडा परेको र कुटपिटसमेत भएको भन्ने छिमेकीको सूचनाका आधारमा प्रहरी आज बिहानै राईको घरमा पुगेको थियो । घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार १४:११