बाँके । बाँकेका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी पहाडी जिल्लामा बिक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले नेपालगन्जबाट चोरी भएका छवटा मोटरसाइकलसहित चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए ।
ती व्यक्तिले ११ वटा मोटरसाइकल चोरेको बयान प्रहरीसमक्ष दिएका छन् । प्रहरीले छवटा मोटरसाइकलसहित अन्य विभिन्न मोटरसाइकलका पार्टस्समेत बरामद गरेको छ । चोरी गरेको आरोपमा पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका–३ का रामबहादुर थापा, जुम्लाको चन्दननाथ नगरपालिका–११ घर भई हाल नेपालगन्ज–४ बस्ने धीरेन्द्रविक्रम शाही रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै दाङ गढवा–४ का ईरसाद अहमद मुसलमान, रोल्पा लुग्री–१ का छविलाल पुन मगर, लुग्री–५ का नवराज रोका क्षेत्री तथा नेपालगञ्ज–१० का रञ्जित शर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । प्रहरी उपरीक्षक रानाले दिएको जानकारीअनुसार खजुरा–३ का थापाले विगतमा भारतीय नागरिकसँग मिलेर चोरीका मोटरसाइकल आफूले खरिद गरी बढी मूल्यमा बेच्ने गरेको बयान दिएका छन् ।
गिरोहले चोरीका लागि यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय, भेरी अस्पताल, शिक्षण अस्पताल तथा अन्य पार्किङ क्षेत्रलाई रोज्ने गरेको प्रहरीले जनाएको छ । चोरीका मोटरसाइकल रोल्पा, प्युठान, दाङ, जाजरकोट लगायतका पहाडी जिल्लामा बिक्री हुने गरेको अनुसन्धानबाट खुलेकाले खोजतलासका लागि विभिन्न जिल्लाका प्रहरीसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
।