काठमाडौं । २०७५ भदौ, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई कारबाहीको माग गर्दै देश नै आन्दोलित भयो । सडकदेखि सामाजिक सञ्जालसम्म निर्मलाको न्यायका लागि आवाजहरु उठिरहेका थिए ।
त्यही दिन न्यायका लागि अलाप–विलाप गर्दै हारगुहारमा लागेका निर्मलाका आमाबाबुलाई प्रधानमन्त्री केपी शर्मा ओलीकै अघिल्लितिर सत्तारुढ पार्टीका नेताहरूले ‘परिचालित अभियानमा लागेको’ आरोप लगाए ।
बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायका लागि काठमाडौं पुगेर निर्मलाका आमाबाबु हारगुहार गरिरहेका बेला नेकपाले भदौ ३० गते तत्कालीन माओवादीका नेता पोष्टबहादुर बोगटीको चौथो स्मृति दिवस आयोजना गरेको थियो ।
स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नेता–कार्यकर्ताहरुलाई सरकारको बचाउमा उत्रिन र आलोचना गर्नेमाथि ‘अरिङगाल’ बनेर जाइलाग्न निर्देशन दिए । प्रधानमन्त्री ओलीको निर्देशनपछि सामाजिक सञ्जालमा सरकारका आलोचक र विरोधीलाई गाली गर्ने समर्थकहरूलाई ‘अरिङगाल’ र ‘हनुमान’ भन्ने थालियो ।
‘अरिङगाल’ र ‘हनुमान’हरु सामाजिक सञ्जालमा लामो समयदेखि पत्रकार, सम्पादक र आलोचकहरुलाई व्यक्तिगत तहमै ओर्लेर टिप्पणी गर्दै आएका छन् । ‘अरिङगाल’ र ‘हनुमान’पछि पछिल्लो समय अर्को शब्द ज्यादै प्रचलित छ, त्यो हो ‘साइबर सेना’ ।
प्रतिनिधि सभा विघटनको एक दिनअघि नेकपाको युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले नवलपरासीको गैंडाकोटबाट सरकारविरुद्ध भ्रम फैलाउनेलाई ‘तह लगाउन’ ‘साइबर सेना’ गठनको निर्देशन दिएसँगै यो शब्द बढी प्रचलनमा आएको हो ।
उनको निर्देशनपछि ओली समर्थकहरु सामाजिक सञ्जालमा ‘केपी ओली समर्थक साइबर सेना’ नामका ग्रुप बनाएर सरकारका गलत कामको विरोध गर्ने आलोचकमाथि आक्रमण गर्दै आएका छन् । ‘केपी ओली समर्थक साइबर सेना’मा प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाका विशुद्ध कार्यकर्तामात्रै नभएर पत्रकारहरु पनि खुलेर लागेका छन् ।
जसको पछिल्लो उदाहरण हो, प्रचण्ड–नेपाल समूहले माघ २८ गते काठमाडौंमा आयोजना गरेको ‘बृहत् विरोध प्रदर्शन’को एक तस्वीरमा फोटोसपमा भारतीय झण्डा राखेर समाचार प्रकाशन गर्नु । ओलीनिकट पत्रकारहरुको संगठन प्रेस संगठन, नेपालका संयोजक गणेशबहादुर बस्नेत अध्यक्ष रहेको ‘जनता टाइम्स’ले उक्त समाचार प्रकाशन गरेको थियो ।
समाचारमा प्रयोग गरिएको तस्बिरमा फोटोसपका माध्यमबाट भारतीय झण्डा राखिएको तथ्य सार्वजनिक भएपछि ‘जनता टाइम्स’ले माफी मागेको थियो । प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि ‘साइबर सेना’को सक्रियता सामाजिक सञ्जालमा व्यापक छ ।
‘साइबर सेना’हरु कहाँबाट परिचालन हुन्छन् भन्ने पुष्टि हुन नसके पनि ओलीनिकटकै पत्रकारहरु बालुवाटार र शीतल निवासबाट उनीहरु परिचालन भइरहेका दाबी गर्छन् । केही दिनअघिको एक अनौपचारिक कुराकानीमा गणेश बस्नेत नेतृत्वको प्रेस संगठन, नेपालमा आवद्ध एक जना पत्रकारले ओलीलाई माया गर्नेहरु स्वस्फूर्त रुपमा पनि लागिरहेको बताए ।
उनले भनेका थिए, ‘साइबर सेनाहरु कहाँबाट परिचालन छन् भनेर सहजै अनुमान लगाउनुस् न । बालुवाटारबाट परिचालन हुन्छन् भन्ने कुरा पनि लुकाएर लुक्छ र ? अलिअलि हात शीतल निवासमा कार्यरतहरुको पनि छ । र, ओलीलाई माया गर्नेहरु स्वस्फूर्त रुपमा पनि लागिरहेका हुन्छन् ।’
यसरी संगठितरुपमै सरकार र ओलीको विरोध र आलोचना गर्नेमाथि ‘जाइलाग्न’ ‘साइबर सेना’ बनाए पनि ओलीनिकटको नेकपाले आफ्नै आधिकारिक फेसबुक पेज भने ‘नेपाल कम्युनिस्ट पार्टी’ भने जोगाउन सकेको छैन । फेसबुकबाट ‘भेरिफाइड’ उक्त पेज नेकपाकै अर्को समूह प्रचण्ड–नेपालको नियन्त्रण छ ।
तीन लाख आठ हजारभन्दा बढीले पछ्याएको उक्त पेजको ‘हेडर’मा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुको माघ १९ मा कैद गरिएको तस्वीर राखिएको छ ।
उक्त फेसबुक पेज पछिल्लो पटक १५ घण्टाअघि सक्रिय भएको पनि देखिएको छ । अध्यक्ष नेपालले सम्बोधन गरिरहेको भिडियो राख्दै पेजमा पछिल्लो स्टाटस लेखिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सोलुखुम्बु जिल्लाको प्रशिक्षण भेला कार्यक्रममा अध्यक्ष कमरेड माधवकुमार नेपाल सम्बोधन गर्दै । ०७८ माघ २९ गते, चाबहिल, नवदूर्गा पाटि प्यालेस ।’
भिडियोसँगै राखिएको उक्त स्टाटसमा २०७७ लेख्नुपर्नेमा भने २०७८ लेखिएको छ । यस्तै सोही पेजमा बिहीबार केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको रिहाइको माग गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको पेस विज्ञप्तिदेखि प्रचण्ड–नेपाल समूहले यसअघि सरकारविरुद्ध गरेका विभिन्न प्रदर्शनहरुका तस्वीरहरु देख्न सकिन्छ ।
‘साइबर सेना’ लाई युथ फोर्स शैलीमा अघि बढाउने तयारी
पूर्वमन्त्रीसमेत रहेका युवा संघ नेपालका इन्चार्ज बस्नेतको अग्रसरतामा अनौपचारिकरुपमा गठन भएको ‘साइबर सेना’लाई ओली नेतृत्वको नेकपाले युवा संघकै विभागीय संरचना बनाउने आन्तरिक तयारी गरेको छ । बालुवाटारनिकट स्रोतले ‘साइबर सेना’लाई तत्कालीन नेकपा एमालेको युथफोर्स शैलीमा अघि बढाउने तयारी गरेको दाबी गरेको छ ।
‘अहिले सामाजिक सञ्जालमार्फत् सरकारका राम्रा कामको प्रचार–प्रसारका लागि भनेर बनाइएको साइबर सेनालाई आगामी दिनमा आवश्यकता परे पुरानो युथ फोर्स टाइपको बनाउने भन्ने छ,’ स्रोतले भन्यो । केही समय अघि बस्नेतले पनि पार्टीले तयार गर्न लागेको ‘साइबर सेना’ युवा संघको विभागीय संरचना हुने अभिव्यक्ति दिएको सञ्चारमाध्यमहरुमा आएको थियो ।
समाचारअनुसार सामाजिक सञ्जालमा ओली पक्षलाई आउने गालीगलौज, नगरेका गल्तीको अपजस आदि भोग्नुपरेको भन्दै त्यस्ता कुराहरुको सामाजिक सञ्जालबाटै प्रत्युत्तर दिन ‘साइबर सेना’ बनाउन लागिएको नेता बस्नेतको भनाइ थियो ।
‘ओली नेतृत्वको वर्तमान सरकारले गरेका राम्रा कामको कतै प्रचार भएन । सरकारले गरेका कामको प्रगति विवरण जनतामा पुग्दै पुगेन,’ नेता बस्नेतलाई उद्धृत गर्दै समाचारमा भनिएको थियो, ‘सञ्चारमाध्यम खाली सरकारविरुद्ध मात्रै लागिरहे, त्यसैले सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट ओली नेतृत्वको सरकारले गरेका कामको प्रचार गर्न बिना कारण लागेका आरोपहरुको सशक्त खण्डन गर्न ‘साइबर सेना’ बनाउन लागिएको हो ।’
सामाजिक सञ्जालमार्फत् सरकारको बचाउका लागि ‘साइबर सेना’को प्रयोग नेपालका लागि नयाँ भए पनि विश्वका अन्य मुलुकमा भने यो प्रयोग धेरै अगाडिबाट हुँदै आएको छ । जसको पछिल्लो उदाहरण हुन्, अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ।
।