सूचनाको शक्ति - The Power Of Information

        

झाँक्री पक्राउ प्रकरण

दफा ५८ ले रामकुमारी झाँक्रीमाथि लगाइएको अपराध पुष्टि होला ?

काठमाडौं । गोरखमा पुगेर करिव दुई साता अघि दिएको एक अभिव्यक्तिको कारण प्रहरीले आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई बिहिवार नियन्त्रणमा लिएको छ । उनलाई राज्यविरुद्धको कसुर अन्तर्गतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीको पक्राउ पुर्जीमा उल्लेख गरिएको छ ।

दफा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख गरिएको छ । दफा ५८ (१) भनिएको छ ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन ।’

के त्यसो भए झाँक्रीले राष्ट्रपति वा कुनै सांसदलाई धम्की वा डरत्रासमा पारेकी थिइन् ?

के दफा ५८ ले उनको अपराधलाई सम्बोधन गर्छ ?

झाँक्रीले माघ १६ गते गोरखाको सिरान चोक गाउँपालिमा भएको एक कार्यक्रमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि कटाक्ष गरेकी थिइन् । त्यही विषय सामाजिक सञ्जालमा भाइरल भएको थियो । यही विषयलाई लिएर ओली समूह निकट अखिल नेपाल महिला संघले राष्ट्रपतिको चिरित्र हत्या गरेको भन्दै पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापा बादललाई माघ २१ गते ज्ञापनपत्र बुझाएको थियो ।

तर प्रहरीले झाँक्रीलाई दिएको पक्राउ पुर्जीमा चरित्र हत्या नभएर राज्यविरुद्धको कसुर लगाइएको छ । झाँक्रीले त्यो कार्यक्रमा राष्ट्रपतिलाई चुनाव लड्ने भए शितल निवास छोडेर बालकोट जान भनेकी थिइन् । कार्यक्रम नेतृ झाँक्रीले भनेकी थिइन् ‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर जुन शक्ति आर्जन गर्ने गलतलाई सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमाले त्यसको प्रतिउत्पादन हो विद्या भण्डारी ।’

प्रहरीले रामकुमारी झाँक्रीलाई पक्राउ गर्न खासै चासो देखाएको थिएन । यो राजनीतिक मुद्दा भएको भन्दै प्रहरी तर्किँदै आएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलले बारम्बार प्रहरीलाई दबाब दिएपछि प्रहरी झाँक्रीलाई पक्राउ गर्न बाध्य भएको हो । ‘पक्राउ गर्नु भन्ने पहिले नै थियो । तर हामीलाई राजनीतिक विषय हो भन्ने थियो । तर माथिबाट दबाब आएपछि के गर्ने ?’ एक उच्च प्रहरी अधिकृतले सुनाए ।

त्यसो त प्रहरीलाई उनको अभिव्यक्ति आएपछि नै पक्राउ गर्न प्रेसर थियो । उनी कार्यक्रमको सिलसिलामा जिल्ला बाहिर नै थिइन् । तर बुधवार काठमाडौंमा आयोजक कार्यक्रममा उनी देखिइन् । त्यसपछि फेरी राष्ट्रपति भण्डारीमाथि कटाक्ष गरिनन् । त्यसले झन् झाँक्रीलाई समात्न प्रहरीमाथि दबाब पर्यो । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय नक्साललाई सोधपुछ गर्न भन्दै पत्र पठाएको थियो ।

कार्यालयले त्यो पत्र महानगरीय अपराध अनुसन्धान महाशाखालाई दियो । महाशाखामा पत्र पुगे पनि तत्काल नियन्त्रणमा लिन चाहेन । झाँक्रीलाई काठमाडौं उपत्यकामा आएपछि निगरानीमा भने राखेको थियो । तर राज्यविरुद्धको अपराधमा दफा ५८ अनुसार नियन्त्रणमा लिनु कतिको जायज थियो ? नेपाल प्रहरीका प्रवक्ता यस विषयमा बोल्न चाहेनन् । ‘झाँक्री घटना’ भनेर सोध्नबित्तिकै नेपाल प्रहरीका प्रवक्ता एसएसपी सन्तबहादुर कुँवरले भने ‘अपराध महाशाखाले हेरिरहेको केस छ उतै सोध्नु होला ।’

त्यसो नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा आफ्नो समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । नेतृ झाँक्री माथि लागेको आरोप पुष्टि भएको खण्डमा उनलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । झाँक्रीको पक्राउको विषयलाई लिएर आन्दोलनरत् नेकपा पक्षले मात्र होइन प्रतिपक्ष नेपाली काँग्रेस लगायत अन्य दलहरूले समेत आपत्ति जनाइसकेका छन् । उनीहरूले झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका छन् । झाँक्रीलाई अहिले महानगरीय अपराध महाशाखामा राखेर सोधपुछ भइरहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १५:३१