सूचनाको शक्ति - The Power Of Information

        

झोला कक्षाकोठामै छाडेर राप्ती शिक्षा क्याम्पसबाट विद्यार्थी बेपत्ता

दाङ । घोराही उपमहानगरपालिका–५, भैसापथ्रा निवासी २२ वर्षीय देवेन्द्र वलीलाई खोजिदिन घर परिवारले आग्रह गरेको छ । १४ दिनदेखि सम्पर्कविहीन भएका वलीको खोजी गरिदिन उनका पिता दोर्णबहादुर वलीले आग्रह गरेका हुन् । बुधवार घोराहीमा पत्रकार सम्मेलन गरी बेपत्ता छोराको खोजी गरिदिन उनले प्रहरी, मानवअधिकारकर्मी, सञ्चारकर्मी, कलेज प्रशासन लगायतलाई अनुरोध गरेका छन् ।

देवेन्द्र घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पसमा पढ्न माघ १५ गते गएकोमा हालसम्म सम्पर्कमा नआएको भन्दै उनले खोजी गरिदिन आग्रह गरेका हुन् । ‘बीएड प्रथम वर्षमा अध्ययनरत छोरा कोठाबाट कलेज जान्छु भनेर निस्किएको थियो, तर १४ दिन बितिसक्दा पनि उ घर फर्किएन, अहिलेसम्म कसैको सम्पर्कमा आएको छैन्,’ दोर्णबहादुरले भने, ‘हामीले विभिन्न ठाउँमा खोजी गरिसक्यौं । तर, उ भेटिँदैन । कलेजबाट पनि चित्तबुझ्दो जवाफ आउँदैन ।’

उनले कलेजबाट विद्यार्थी हराएको तीन दिन बितिसक्दा समेत घरपरिवारलाई सम्पर्क नगर्नु र साथीले पुलिस केस नगरौं भन्नुले आफूहरूलाई घटनाप्रति आशंका उत्पन्न भएको समेत बताए । ‘कलेज पढ्न गएको छोराको झोला कलेजमै छ, तर उसको पत्तै छैन,’ उनले भने, ‘कलेजले घरपरिवारलाई विद्यार्थी हराएको जानकारी गराउँदैन ? यो कलेजको कस्तो कार्य हो ?’ उनले पढ्न गएको विद्यार्थीले कक्षामा झोला राखेको अवस्थामा हराउँदा पनि कलेजले खोजी कार्यमा बेवास्ता गरिरहेको बताए ।

‘तपाईंको छोरा हराएका छन् भनी रेडियोबाट फोन आयो, त्यसपछि मात्रै हामीले थाहा पायौँ । तर, कलेजले खबर नै गरेन । हामीले छोरा हराएको खबर पाएपछि कलेजसँगै जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी गरायौँ । तर, कलेजले खोजी कार्यमा ध्यान दिँदैन,’ उनले भने । साथै, गहिराइमा पुगेर घटनाबारे अनुसन्धान गरिदिन उनले प्रहरीलाई आग्रह गरेका छन् । प्रहरीले हराइरहेका वलीको खोजीकार्य भैरहेको जनाएको छ । घटनाबारे जानकारी पाएपछि घटनाको अनुसन्धानसँगै हराइरहेका व्यक्तिको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो । वली घोराहीमा रहेको रेडियो स्वर्गद्वारीमा समेत कार्यरत थिए ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ०९:१७