सूचनाको शक्ति - The Power Of Information

        

रोजगारीको पीडा

सिमाना खुलेसँगै भारत जानेको लर्को

फाइल तस्वीर

बाँके । बाँकेस्थित नेपाल–भारत सीमा जमुनाह नाका औपचारिक रूपमा खुलेसँंगै रोजगारीका लागि भारत जाने नेपालीको लर्काे देखिन थालेको छ । यहाँको जमुनाह इलाका प्रहरी कार्यालयले औपचारिक रूपमा सिमाना खुलेपछि अहिले जानेको सङ्ख्या अत्यधिक बढेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख विष्णु गिरीले औपचारिक रूपमा सिमाना खुलेपछि दैनिक पाँच सयभन्दा बढी नेपाली रोजगारीका लागि भारततर्फ जाने गरेको बताए । उनका अनुसार सीमा नाका खुलेको जानकारी सार्वजनिक भएसंँगै पश्चिम नेपालका पहाडी जिल्लाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या बढ्दै गएको छ ।

भारतमा कोरोना फैलिएका बेला फर्किएका अधिकांश नेपालीले स्वदेशमा बेरोजगार भएपछि रोजगारी खोज्न बाध्य भएर फेरि भारत जानुपरेको बताएका छन् । दैलेख नौमुलेका राजेश थापाले नेपाल फर्किएको सात महिना बिते पनि स्वदेशमा कुनै काम नपाएपछि फेरि बाध्य भएर रोजगारीका लागि भारतको गुजरात जान थालेको बताए ।

सिमानामा भेटिएका सुर्खेत रामघाटका राजु विक, सल्यान खलङ्गाका दीपेन्द्र क्षेत्री र जाजरकोट ढिमेका सत्यबहादुर खत्रीले पनि रोजगारीकै लागि भारत जान थालेको बताए । केही समय पहिले अनौपचारिक रूपमा मात्रै सिमाना खुलेकाले नाकामा ओहोरदोहोर गर्न समस्या भए पनि अहिले औपचारिक रूपमा सीमा नाका खोलिएपछि सहज भएको जमुनाह प्रहरीले जनाएको छ ।

भारतमा कोरोनाको प्रभाव घट्दै गएको र कोरोना खोपसमेत लगाउन थालिएपछि भारतमा नेपाली कामदारको माग बढ्दै गएको छ । सोही कारण विभिन्न उद्योग, कलकारखानाका मानिस सीमापारि रुपैडिहामा पुगेर नेपाली कामदारलाई लिएर जान थालेका बताइएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ०८:२२