सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिइने

काठमाडौं । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरिएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले प्रसारकका साथै प्रकाशक सञ्चार गृहलाई पनि आर्थिक सहयोग गर्ने बताएका हुन् ।

“कर्णालीका एफएम रेडियो, केवल, टेलिभिजन र सिनेमालाई सूचना प्रसारण गरेवापत रु एक लाख दिने निर्णय गरेका छौँ”, उनले भने, “शुरुआतमा यसको ५० प्रतिशत रकम उपलब्ध गराउँछौँ र सूचना प्रकाशन प्रसारणपछि पूरा रकम उपलब्ध गराउँछौँ ।”

मन्त्री भण्डारीले प्रसारक सञ्चार गृहलाई मात्र नभई छापा माध्यमका लागि पनि केही रकम छुट्याएको बताए । कर्णालीका पत्रकारहरुका लागि दुर्घटना बिमाको कार्यक्रम ल्याएको जनाउँदै उनले भने, “हामीले पत्रकारिता विषयअन्तर्गत स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ । अहिले पत्रकारहरु छात्रवृत्तिबाट पत्रकारिता विषय अध्ययन गरिरहनुभएको छ ।”

अनुसन्धानविनाको समाचार प्रकाशन तथा प्रसारणले नागरिकको मन जित्न नसक्ने भन्दै उनले त्रुटिपूर्ण नभई अनुसन्धानात्मक ढङ्गले स्रोतको पुष्टि हुने गरी समाचारहरु सम्प्रेषण गर्न सुझाव दिए । रासस

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ०७:५६