सूचनाको शक्ति - The Power Of Information

        

भागरथीकी आमा भन्छिन्, छोरीको हत्यारालाई काटेर नुन चुक हाल्ने मन छ

बैतडी । डेढ महिनाअघि सुगरका बिरामी श्रीमानले संसाद छोड्दा बैतडी दोगडाकेदारकी–७ चडेपानीकी दुरा भट्टको सिन्धुर पुछियो । पति वियोगको आँसु थामिएका थिएनन् बुधवार विद्यालय गएकी १७ बर्षकी छोरी भागरथी घर फर्किनन् ।

आफन्तले साथीको घरमा गएको वा कोही केटासँग भागेर गएको अनुमान गरे । सोही अनुमान दुराको पनि थियो । भागेर गएको अनुमान गरेर ठाउँठाउँमा सार्वजनिक सवारी चेक गरियो । दिन ढल्यो तर भागरथीको पत्तो लागेन् ।

दोस्रो दिन उनको हुलियासहित खोचलेक प्रहरी चौकीमा निवेदन दर्ता भयो । दुराको मन भन्थ्यो, भागरथीलाई केही भएको छैन् । बिहिवार चडेपानीका तीन जना विद्यार्थीले बाटो छेउको झाडीमा भागरथीलाई भेट्टाए । तर जिवित होईन ।

भागरथीले अन्तिम सास फेरिसकेको अवस्थामा । उनको मृत शरिर देख्दा सिंगो गाउँ रोयो । आँसु नझार्ने कोही थिएनन् । डेढ महिनाअघि पति वियोग र अहिले छोरी गुमाएकी दुराको भने आँसु सुकिसकेको छ ।

छोरीको बलात्कार पछि हत्या भएको र सबैलाई चटक्कै छोडेर गएको पत्यार लागिरहेको छैने दुरालाई । मृतकको घरमै पुगेका बोलन्या थलीका संयोजक यादव जोशीलाई दुराले भनिन्, ‘ अब त आँसु आउनै छोडिसक्यो । छोरीको हत्यारालाई काटेर नुन चुक हाल्ने मन छ । बरु म पन झेलखाना (जेल) मै बसुला ।’

घर खर्च चलाउन र बहिनीको पढाई खर्च जुटाउन समस्या भएपछि कक्षा १० मा पढ्दापढ्दै भागरथीका दाई भारत पसेका थिए । उनका दुई दिदीको बिहे भईसकेको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलवार १२:१३