सूचनाको शक्ति - The Power Of Information

        

महिला लिगमा एपीएफ र चौदण्डीगढी खेल्दै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफ र चौदण्डी भिड्ने छन् । दुई टोलीबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ ।

साबिक विजेतासमेत रहेको एपीएफ चौदण्डीलाई हराएर अपराजित यात्रा कायम राख्न चाहन्छ । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो ।

शीर्ष स्थानको एपीएफएले ६ खेलमा १८ अंक जोडेको छ । यस अघिको भेटमा एपीएफले चौदण्डीलाई २२ शून्यले हराएको थियो ।

उक्त खेलमा सावित्रा भण्डारी एक्लैले १२ गोल गरेकी थिइन् । एपीएफ आजको खेलमा उक्त नतिजा कायम राख्न चाहन्छ ।

यता, चौदण्डी भने एपीएफलाई रोक्ने योजनामा रहने छ । जारी लिगमा अंक विहीन रहने एक्लो टिम चौदण्डी हो । चौदण्डीले अघिल्ला ६ खेलमा हार व्यहोरेको छ ।

चौदण्डीले आफ्नो टिम बलियो बनाउन भारतीय खेलाडी अनुबन्ध गरिसकेको छ ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार ०९:१७