सूचनाको शक्ति - The Power Of Information

        

आङ सान सू चीलाई उनकै घरमा नजरबन्दमा राखिएकाे छ : एनएलडी

काठमाडौं ।   म्यानमारकी नेतृ आङ सान सू चीलाई उनकै घरमा नजरबन्दमा राखिएको म्यानमारको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ ले पुष्टि गरेको छ ।

सेनाले सत्ता कब्जा गरेपछि सू चीलाई कहाँ राखिएको छ भन्नेबारे विभिन्न अनुमान भइरहेका बेला एनएलडीले आफ्ना अध्यक्ष सू चीलाई उनकै घरमा राखेको जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

सू चीका सञ्चार अधिकृत क्यी टोयले नेतृ सुकीलाई उनकै घरमा नजरबन्दमा राखिएको छ र उनको स्वास्थ्य राम्रो रहेको जानकारी दिएको खबरमा उल्लेख छ ।

यसैबीच संयुक्त राष्ट्र सङ्घ (यूएन) को सुरक्षा परिषद्ले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीलगायत पक्राउ परेका सबैलाई तत्काल रिहा गर्न भनेको छ ।

परिषद्ले विज्ञप्ति निकालेर सबै सदस्य राष्ट्रहरूले म्यानमारमा घोषणा गरिएको सङ्कटकाल र सू ची लगायत नेताहरूलाई पक्राउ गरिएको घटनामा गहिरो चासो व्यक्त गरेको भन्दै तत्काल रिहा गर्न भनेको हो ।

परिषद्की अध्यक्ष बार्बरा वुडवार्डले निकालेको विज्ञपप्तमा सुरक्षा परिषद्का सदस्यहरूले म्यानमारको प्रजातान्त्रिक प्रक्रियाको निरन्तरतामा जोड दिएका उल्लेख छ ।

यसअघि गएको मङ्गलबार बसेको सुरक्षा परिषद्को बैठकले म्यानमारमा भएको सैनिक ‘कू’ को विरोध गर्दै निकाल्न लागेको वक्तव्य चीनले नमानेपछि रोकिएको थियो ।

सुरक्षा परिषद्को विज्ञप्तिमा प्रजातान्त्रिक संस्था र प्रक्रियाहरू पालना, हिंसा हुन नदिने, मानव अधिकारको पूर्णरूपमा सम्मान गर्ने, स्वतन्त्रता र कानुनको शासनको आवश्यकतामा जोड दिइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार ०७:५५