सूचनाको शक्ति - The Power Of Information

        

खोप अभियान

नेपालमा पहिलो चरणको खोप अभियान आज सकिँदै, चीनले ५ लाख खोप दिने

१ लाख ७१ हजार ४८६ जनाले खोप लगाए

काठमाडौं ।  नेपालमा पहिलो चरणको पहिलो खोप अभियान आजदेखि सकिँदैछ ।

पहिलो डोजको खोप अभियान आजदेखि सकिएपछि अबको केही दिनमा पहिलो चरण अन्तर्गतकै दोस्रो डोज खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने भने पनि लक्ष्यअनुसार खोप लगाउने छाँट देखिएको छैन ।

पहिलो डोजको खोप अभियान अन्तर्गत हिजोसम्म १ लाख ७१ हजार ४८६ जनाले खोप लगाएका छन् । पहिलो चरणमा थोरै परिमाणमा खोप आएकाले सीमित जनशक्तिलाई मात्र पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले बताउनुभयो । सरकारले अब छिट्टै कोभ्याक्स सुविधामार्फत् दोस्राे चरणको खोप ल्याउने जनाएको छ ।

यसैबीच चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप पाँच लाख मात्रा दिने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रवार बेलुकी भएको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले अनुदानको खोप दिने प्रतिबद्धता जनाउनुभएको हो ।  चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार ०७:५१