सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

क्यान्सर अस्पतालले पश्चिम नेपालका बिरामीलाई उपचारमा सहज

बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पश्चिम नेपालका तीन वटा प्रदेशका क्यान्सरका बिरामीको उपचार सहज भएको छ । पश्चिम नेपालकै पहिलो क्यान्सर अस्पतालका रूपमा रहेको सो अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका रोगीको उपचार गरिरहेको छ । यसअघि उपचारका लागि भारत जानुपर्ने र नभए काठमाडौँ र चितवनको भरतपुर जाने बाध्यता थियो ।

अहिले यो क्षेत्रका बिरामीको यहीँ उपचार भइरहेको छ । खजुरा क्यान्सर अस्पतालका प्रमुख डा.कृष्ण आचार्यले यो अस्पताल सञ्चालनमा आएपछि पश्चिम नेपालका गरिब र विपन्न तथा सबै खालको आर्थिक अवस्था भएका रोगीले सहजरूपमा उपचार पाइरहेको दाबी गरे । महायज्ञबाट रकम सङ्कलन गरेर सुरु भएको सो अस्पतालको परिकल्पना अहिले साकार हुँदै गएको जनाउँदै उनले अस्पतालमा क्यान्सरको सेकाइबाहेक सबै सेवा उपलब्ध रहेको बताए ।

यो अस्पताल २०७३ साल चैत ३ देखि सञ्चालनमा आएको हो । प्रचारको अभावमा अझै पनि धेरै क्यान्सरका बिरामी अस्पतालमा नआएको जनाउँदै डा.आचार्यले अस्पतालको सेवा सुविधाका बारेमा थप प्रचारप्रसार गरिने बताए । हाल दैनिक ३० देखि ४० जना बिरामी उपचारका लागि आइरहेको अस्पतालले जनाएको छ । सेवा विस्तारका क्रममा गत मङ्सिर ५ बाट सो अस्पतालमा शल्यक्रिया पनि सुरु गरिएको छ ।

शल्यक्रिया सुरु गरिएपछि यस क्षेत्रका बिरामीलाई झनै सहज भएको जनाउँदै अस्पतालका प्रमुख डा.आचार्यले हालसम्म ३५ वटा शल्यक्रिया गरिसकेको बताए । खजुरा गाउँपालिकाका अध्यक्षसमेत रहेएका अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपतिले क्यान्सरको पहिचान र निदानका लागि अन्यत्र जानु नपरोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको अस्पताल आफ्नो लक्ष्यतर्फ उन्मुख रहेको बताए ।

उनले अस्पतालमा सिटी स्क्यान, अल्ट्रासाउन्ड, उच्चस्तरीय ल्याब, सुविधासम्पन्न अपरेसन थिएटर तयार भई सञ्चालनमा आइसकेको बताए । उनका अनुसार क्यान्सरको सेकाइका लागि बङ्कर तयार भइसकेको छ । भारतस्थित बम्बईको टाटा अस्पतालको स्टक्चर अध्ययन गरेर बङ्कर तयार गरिएको हो ।

अस्पतालमा अब क्यान्सरको सेकाइका लागि आवश्यक पर्ने लिनायक मेसिन आउन मात्र बाँकी रहेकाले सोका लागि पनि २९ करोड ५० हजार रुपियाँको बजेट सरकारले विनियोजन गरिसकेको अस्पतालले जनाएको छ । सो मेसिन जडान गरिने बित्तिकै क्यान्सरको उपचारका लागि कुनै पनि बिरामी अन्त जानुपर्ने बाध्यता समाप्त हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार ०८:०३