काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी दाहाल-नेपाल समूह भएको बताउनुभएको छ ।
काठमाडौंमा बिहीबार आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट कै खोल ओढेर कम्युनिष्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिष्ट आन्दोलनलाई पटक-पटक बदनाम गर्ने काम गरेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री ओलीले दाहाल-नेपाल समूह नियम तोड्ने धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिडेको भन्दै अब ‘कानून मान्दिनँ’भन्ने जमाना नभएको बताउनुभयो ।
आमहड्ताल गरेर दाहाल-नेपाल समूहले जनतालाई दु:ख दिएको र आफुहरु चाँही गाडी र मोटरसाईकलबाट जनताले पाएको दु:खको तमासा हेर्दै हिडेको बताउनुभयो ।
उहाँले कार्यकर्ता नभएर नेताहरु आफै सडकमा उत्रिएको भन्दै व्यंग्य गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विवाद गर्ने र झगडा गर्नेहरुले पार्टी छोडेकाले अब आगामी दिनमा पार्टी आन्तरिक शुद्धिकरण सहित सुदृढ हुदै अघि बढ्ने दाबी पनि गर्नुभयो ।
।