सूचनाको शक्ति - The Power Of Information

        

बर्दिवासमा प्रहरीले राजमार्ग खुलायो

महोत्तरी । प्रहरीले महोत्तरीको बर्दिवासस्थित पूर्व-पश्चिम राजमार्ग र बीपी राजमार्गमा खुलाएको छ । नेकपा दाहाल-नेपाल समूहका कार्यकर्तालाई बल प्रयोग गरी हटाउँदै प्रहरीले राजमार्ग खुलाएको हो ।

५ घण्टादेखि राजमार्ग खुलाउन प्रयास गरिरहेको प्रहरी टोलीले आन्दोलनकारीमाथि लाठी चार्ज गर्दै सडक खुलाएपछि अहिले प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ सवारी साधनलाई पठाइरहेका छन् ।

प्रहरीले बल प्रयोग गरेर सडक खुलाउँदा केहीबेर झडप भएको थियो । झडपमा परी दाहाल-नेपाल समूहका सदस्य शंकर महतो, बर्दिबास नगरपालिका-१ का वडाध्यक्ष चुडामणि पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा-३ का वडाध्यक्ष राजन ढुंगानालगायत घाइते भएका छन् । उनीहरुको हात, खुट्टा र टाउको चोट लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधािनक रुपमा संसद् विघटन गरेको र संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले बर्दिबाससहित जिल्लाका अन्य स्थानमा समेत बजार, कलकारखाना, शैक्षिक संस्थाहरु बन्द गराएका छन् ।

आन्दोलनकारीले राजमार्ग सञ्चालनमा अवरोध गर्न खोजे पनि सवारीसाधन रोक्न नदिएको र प्रहरीले स्थिति सामान्य बनाउँदै रातिदेखि राजमार्गमा रोकिएका सवारीसाधन सञ्चालन गरेको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहीबार १४:१९