सूचनाको शक्ति - The Power Of Information

        

बालविवाहबाट महिला बढी पीडित, दिनचार्य कष्टकर


बाँके । बाँके राप्तीसोनारी ९ की यामुना डिसी (नाम परिवर्तन)ले १४ बर्षको उमेरमा विवाह गरिन् । दार्चुलाका एक सशस्त्र प्रहरी जवानसँग विवाह भैसकेपछि उनका दिनहरु सुरुसुरुमा राम्रै बिते । १५ बर्षको उमेर जब उनकै छोराको जन्म भयो त्यसपछि भने श्रीमानले दिनहुँ मदिरा सेवन गरेर शारीरिक तथा मानसिक यातना दिन थाले । दिनहुँको यातना खप्न नसकेपछि उनी माइती कहाँ शरण लिन पुगिन् ।
केही समय माइतीमै बिताएपछि उनी फेरी घरमा फर्किन् । श्रीमान् केही सुध्रेकी भनेर घर फर्केकी उनी श्रीमान्बाटै थप यातना पाउन थालेपछि पुनः माइत फर्किइन् । तर, श्रीमान्ले माइतीमै आएर समेत यातना दिन थालेपछि बाध्य भएर सम्बन्धविच्छेद गरिन् । हाल छोरासहित माइतीमा दुःखका दिन व्यतित गरिरहेकी छिन् । उनी भन्छिन्, ‘बालविवाह गरेर जीवन नै बर्बाद भयो । विवाह नगरेर पढेको भए अहिले राम्रो जागिर खान सक्थे ।’
त्यस्तै राप्तीसोनारीकै दिया खड्का (नाम परिवर्तन)ले १५ बर्षकै उमेरमा बाँके खजुराका एक युवकसँग विवाह गरिन् । उनका पनि सुरुका दिनहरु खुसी साथ बिते । तर, जब उनका श्रीमान्ले दाइजोको कुरालाई लिएर बारम्बार यातना दिन थालेपछि उनको कलिलो मस्तिष्कले ती कुरा थेग्न सकेन । उनी मानसिक रुपमा बिक्षिप्त बनिन् । माइती मै बस्न थालिन् । उनी बिरामी हुँदा समेत घरपरिवारले बेवास्ता गर्न छाडेपछि उनी हाल माइतीमै बस्न बाध्य छिन् ।
उनी भन्छिन्, ‘कलिलो उमेरमा विवाह गरेर धोका पाइयो ।’ त्यस्तै अर्की पीडित मनकला केसी (नाम परिवर्तन) पिडा पनि उस्तै छ । बर्दियाका एक युवकसँग १५ वर्षको उमेरमा विवाह भएपछि उनका श्रीमानले दिनहँु मानसिक यातना दिएका कारण उनी पनि हाल माइतीमा बसिरहेकी छन् । यी त प्रतिनिधि पात्र मात्रै हुन पछिल्लो समयमा बालविवाह गर्ने र सम्बन्ध बिग्रिनेको संख्या बढ्दो छ ।
महिला तथा बालबालिका कार्यालयका अनुसार शारीरिक आकषर्णका कारणले बाल बालविवाह गर्ने र मानसिक रुपमा पूर्ण नभई विवाह गर्ने हुँदा बालविवाह सम्बन्धहरु बिग्रेने गरेको बताइन् । बाल विवाह गर्ने विशेष गरी लैङ्गिक हिंस्सामा पर्छन् । यो बाल विवाहको उपज हो उनले भनिन् बालबालिका क्षेत्रमा काम गर्दै आएको संस्था सिविन नेपालका प्रमुख सिद्धराज पनेरुले पछिल्लो समयमा सञ्चारका साधन तथा सामाजिक संजालका कारण बालविवाह बढ्दो क्रममा भएको बताए ।
बाल विवाहबाट पुरुषभन्दा बढी महिला पीडित हुने गरेको उनको भनाई छ । विवाह भएको सूरुमा राम्रो गर्ने भएपनि विस्तारै घर परिवारले समेत वेवास्था गर्दै जाँदा बाल विवाहितहरुको दिनचार्य कष्टकर हुन गरेको छ । कतिपय मानसिक रुपमा विछिप्त बनेका छन् । नेपालमा केटाकेटी दुबैको २० बर्ष पुगेपछि मात्र विवाह गर्न पाउने कानुनी व्यवस्था रहेको बताउँछन् ।

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ११:१०