हरेक पल आउँछ याद देख्छु सपनीमा
माफ दिनुस् बुवा मलाई भेट्छु अर्को जुनीमा ।
अभागी ठान्छु आफैंलाई बस्न पाइन हाँसीखुशी साथमा
सानो ठेस लाग्दा पनि रुन्छु हजुरकै यादमा ।
धेरै थिए सपनी त सम्झी मन रुन्छ
भाग्य नै यस्तै रहेछ चाहेर के नै हुँदोरछ ।
पश्चाताप लाग्छ सधै दिनरात रुन्छु
यतैकतै भैदिए हुन्थ्यो भनि खोजिरहन्छु ।
रहर थियो लेखपढी गरिकन सेवा गर्छु भन्ने
सोचेकी नि थिन बुवा यति चाँडै जानुहुन्छ भन्ने ।
जन्म दिने नाता जस्तो छैन् अरु कुनै
बुवालाई सम्झिँदा त मन लाग्छ रुनै ।
कस्तो थियो रमाईलो हजुर यहाँ हुँदा
टुहुरी पो लाग्छ सधैं भित्री मन रुँदा ।
मन झनै भकानिन्छ रुखो व्यवहार पाउँदा
झलझली याद आउँछ हजुरकै मन झनै कुडिँदा ।
याद आउँछ हजुरकै सफलता हात पर्दा
झनै आउँछ याद दुःखमा रुमलिनु पर्दा ।
केही छैन मरिलानु दुई दिनको चोला
निस्वार्थ यो माया गाँस्न कहाँ पाउनु होला ।
माफ दिनुस् बुवा मलाई समयको खेला
दैवले नै छेक्यो बुवा बोल्न पाइन स्वर्गवासको वेला ।
विर्सिन सक्दिन बुवा हजुरकै याद आउँछ
मुहार अव कहाँ देखु मन सधैं रुन्छ ।
सम्झिन्छु यो शुन्यतामा पनि हजुरको साथ रहन्छ
जन्म दिने भन्दा ठूलो अरु को नै हुन्छ ।
इटहरी–६ सुनसरी
दुर्गा दंगाल (चाँदनी) । इटहरी