सूचनाको शक्ति - The Power Of Information

        

माघ १९ कै दिन म्यानमारमा यसरी भयो प्रजातन्त्रको हत्या

काठमाडौं । माघ १९ कै दिन आज म्यानमारमा सैनिक कू भएको छ । यही शैलीमा राजा ज्ञानेन्द्रले नेपालमा ०६१ माघ १९ का दिन सम्पूर्ण राजकीय सत्ता आफूमा निहित हुने घोषणा गर्दै ०६३ वैशाखसम्म शासनसत्ता हत्याएका थिए ।

संयोगवस १६ वर्षपछि म्यानमारको सेनाले यही दिनलाई अर्को निरंकुशता लाद्ने साइतका रुपमा अपनाएको छ । गत नोभेम्बर महिनामा सम्पन्न निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको दलले भारी मतका साथ जित हासिल गरेको थियो । तर,सेनाले चुनावमा धाँधली भएको नाममा आज ‘कू’ गरेको छ ।

प्रधानसेनापति मिन अङ्ग लाइङले म्यानमारको संवैधानिक व्यवस्थाविपरित त्यहाँका कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका एक वर्षका लागि आफ्नो कब्जामा लिएको घोषणा गरेका छन् । जबकि, त्यहाँको संविधानले बढीमा ६ महिनासम्म सेनाले सत्ता लिन सक्ने र आवश्यक परे फेरि ६ महिनापछि म्याद थप्न पाइने व्यवस्था गरेको छ ।

सैनिक कूको घोषणासँगै त्यहाँ नियुक्त हुने दुई उपराष्ट्रपतिमध्ये सैनिक पृष्ठभूमिका एक उपराष्ट्रपतिलाई राष्ट्रपति घोषणा गरिएको छ । यसअघि बिहान ३ बजेदेखि ४ बजेसम्ममा प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीसहित सम्पूर्ण मन्त्री तथा राजनीतिक दलका नेताहरुलाई गिरफ्तार गरिएको थियो ।

त्यहाँको चोक चोकमा सेनालाई तैनाथ गरिएको छ । रास्ट्रपति वु विन मिन्ट र स्टेट काउन्सिलर आङ्ग सानसुकीलाई नजरबन्द गरिएको छ । म्यान्मारमा अढाई लाख नेपाली बस्दछन् । म्यानमारको संविधानअनुसार, त्यहाँका दुई उपराष्ट्रपतिमध्ये एकजना सैनिक पृष्ठभूमिका रहनु अनिवार्य छ ।

साथै, सरकारमा गृह, रक्षा र सीमा सुरक्षा मन्त्रालय पनि सेनाले नियुक्त गर्ने व्यवस्था छ । त्यहाँको सैन्य संख्या साढे पाँच लाख छ । संसदमा २५ प्रतिशत सदस्य प्रधानसेनापतिको सिफारिसमा नियुक्त हुन्छन् । स्मरणीय छ, सेनाले यसअघि पनि म्यानमारमा ५२ वर्ष सत्ता सञ्चालन गरेको थियो । सेनाको उक्त हर्कतविरुद्ध संयुक्त रास्ट्रसंघका महासचिवले निन्दा गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १४:२४