बझाङ । समयमै वर्षा नहुँदा यस वर्ष किसानलाई भोकमरीको चिन्ता बढेको छ । मंसिर महिनादेखि बर्षा नहुँदा बझाङमा आकाशे पानीको भरमा खेती गर्ने स्थानमा भोकमरीको सम्भावना देखिएको हो । ‘अहिलेसम्म बर्षात् भएको छैन, १० मुरी गहुँ फल्ने जमिनमा बर्षा नभएकाले छरेको गहुँ, जौ उम्रेको छैन । गहुँ छर्ने समय पनि सकियो, यसपालि त भोकमरी हुन्छ कि भन्ने चिन्ता लागिसक्यो । अधिकांश खेतीयोग्य जमिन वर्षा नहुँदा बाँझै छन्,’ थलारा गाउँपालिकाका प्यारु खड्काले भने ।
त्यस्तै छबिसपाथिभेरा गाउँपालिकाका मानबहादुर सिंहले बर्षा होला र खेत जोतेर गहुँ छरौला सोचेका थिए । ‘बर्षा नहुँदा खेतसमेत बाँझै छ । खेतमा लगाएको गहुँ लगाएको पनि सुक्न थाल्यो, अन्य बालीहरु पानी नपर्दा सुक्दै गएपछि भोकमरीको चिन्ता लागेको छ,’ सिंहले भने । गहुँ र जहुँ लगाएको ठाउँमा उम्रिएको छैन । उम्रेको पनि सिंचाइँ नहुँदा सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लामा १० हजार ४५० हेक्टर जमिनमा गहुँबाली उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रमा तथ्याङ्क छ ।
जयपृथ्वी नगरपालिका–१ का जीवनबहादुर सिंहको खेतबारी अघिल्ला वर्षहरूमा यतिबेला खेतबारी हराभरा देखिन्थ्यो । तर यस वर्ष भने समयमै पानी नपरेकाले जताततै खेतबारी उजाड देखिएको उनी बताउँछन् । बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण भारत गएर ज्याला मजदुरी गरि खानेहरू पनि गाउँघरमा फर्किए र गाउँघरमै खेती किसानी गर्न थाले । ‘समयमै पानी नपरेपछि गरि खाने वर्गका लागि अहिले धेरै ठूलो संकट परेको छ । खेतबारीमा हेर्ने हो भने पूरै सुख्खा छ,’ जीवनले भने ।
यता जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले यस बर्ष फागुन १५ सम्म पानी नपरेमा पाखो जमिनतिर १० देखि १२ प्रतिशत र सिँचाइ योग्य जमिनमा ४ देखि ५ प्रतिशतसम्म उत्पादन घट्ने बताएन । उनका अनुसार स्थानीय तहहरुले सिँचाइका कामहरु अघि बढाएकाले पहिलेभन्दा बढी उत्पादन हुने गरे पनि जिल्लामा १२ हजार टन खाद्यान्न हरेक बर्ष अभाव हुने भएकाले ४२ करोडको खाद्यान्न बाहिरबाट निर्यात हुने गरेको छ । जिल्लामा सुर्मा, साइपाल, मष्टा, छविसपाथिभेरा र वित्थडचिर गाउँपालिका खाद्यान्न असुरक्षा धेरै छ ।
।