सूचनाको शक्ति - The Power Of Information

        

आफ्नै सरकार विघटन गर्ने ओली सडकमा पनि कमजोर– अध्यक्ष दाहाल

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले संसद् नभइ केपी ओलीको सरकार विघटन भएको जिकिर गर्नुभएको छ । शनिबार धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले सर्वोच्च अदालतमा विघटनको मुद्दा नभएको भए संसद बोलाउने बताउनुभयो ।

प्रचण्डले विकल्पका रुपमा सभामुखले बैठक बालाउने, दुई तिहाइले प्रधामन्त्रीले राष्ट्रघात गरेको प्रमाणित गर्न सक्ने जिकिर समेत गर्नुभयो । उहाँले केपी ओली पार्टीमा मात्रै नभएर सडकमा पनि एक तिहाइमात्रै भएको जिकिर गर्नुभयो । पार्टीमा कमजोर भए पनि सडकमा बलियो छु भन्ने ओलीलाई बुटवल, विराटनगर र धनगढी दिनका सभाले फुच्चे सावित गरिदिएको उहाँले बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले धनगढी आएर फुर्ति गरेका ओलीलाई आफ्नो स्थान देखाइदिएकोमा समर्थकहरुलाई धन्यवाद समेत दिनुभयो । आफूलाई नेकपाको आधिकारिक भन्ने ओली समुहका स्थायी समिति र केन्द्रीय समितिका पदाधिकारीहरू मात्र नभएर जनताको साथ पनि कम भएको उहांले उल्लेख गर्नुभयो । ओलीले पतनको बाटो रोजेको भन्दै प्रचण्डले आफ्नै बुद्धिले इतिहासमा कलंकको टीका लगाएर ओलीले आफैँलाई खलनायकको रूपमा स्थापित गरेको बताउनुभयो ।

वाम गठबन्धनको प्रस्ताव लिएर देश चलाउन खोज्ने पहिलो पात्र आफू नै भएको दाबी गर्दै उहाँले प्रधानमन्त्री बन्न पाउने भएपछि मात्रै गठबन्धन गर्न ओली राजी भएको बताउनुभयो । ओलीले संसद् मर्‍यो भनेर घोषणा गरे पनि संसद् विघटन नभएको भन्दै प्रचण्डले एकजना व्यक्तिले चाहेको खण्डमा संसद् विघटन नहुने जिकिर गर्नुभयो ।

चुनावका बेला अघि सारेका योजना कार्यान्वयन गरौं भन्दा ओलीले संसद नै विघटन गरेको उहाँको भनाइ थियो । प्रचण्डले पछिल्लो समय देखिएको प्रतिगमन र प्रतिक्रान्तिको खतराको विरुद्धमा जनता जुर्मुराएको देखेर खुशी लागेको बताउनुभयो ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार १६:४८