सूचनाको शक्ति - The Power Of Information

        

सीमामा चहलपहल

सीमा नाका खुलेपछि व्यवसायी उत्साहित

बाँके । कोभिड–१९ (कोरोना) कारण बन्द गरिएको सीमा नाकामध्ये ३० वटा नाकाहरू खुला गरिएको छ । भारत र चीनको नेपालसँग जोडिएको ३० वटा नाका खोलिएका गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार भारतका २८ र चीनका दुईवटा नाका खोलिएका छन् । कोरोना महामारी नियन्त्रणका लागि चैत १० गतेदेखि भारत र चीनसँग जोडिएका नाकाहरू बन्द गरिएको थियो ।

यसअघि भारतका १० र चीनका एउटा नाका खुला थियो । नाका खुलेसँगै सर्वसाधारणको आवतजावत बढ्न थालेको छ । नाका खुलेपछि नाका क्षेत्रका होटल व्यवसायी, आयात निर्यातकर्ताले पनि सहजता महसुस गरेका छन् । सीमा नाका खुलेलगत्तै नेपालकै सबैभन्दा ठूलो नाका वीरगञ्ज–रक्सौल क्षेत्रका व्यवसायी तथा सर्वसाधारण खुसी भएका छन् । १० महिनादेखि सीमा नाका बन्द हुँदा व्यवसायी तथा सर्वसाधारणलाई आउजाउमा समस्या भएको थियो ।

उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य सुवोध गुप्ताले नाका बन्द हुँदा मानिसको आवतजावत त थियो तर सहज नभएको कारण आमजनता तथा व्यवसायीसमेत समस्यामा थियो तर अब यसले केही राहत भएको बताए । नाका खुल्दा व्यवसायीहरू उत्साहित भएको बताउँदै उहाँले नाका बन्दा हुँदा वैवाहिक कार्यक्रममा समेत प्रभावित भएको बताए । सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिँदै आएको सुरक्षा चेकजाँच कायम राख्नुपर्ने उनको धारणा छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपालले नाका त खुल्यो तर सर्तसहित खुलेकाले समस्या कायमै रहको बताए । विभिन्न सर्तहरू राखिएको छ जुन पूरा गरेर भारतबाट पर्यटकहरू आउन सक्ने वातावरण सिर्जना नभएको उनले बताए । नाका खुलेको कारण व्यापार व्यवसाय बढ्ने भयो भन्दै उद्योगी गोपाल केडियाले होटल र पर्यटन र यातायात व्यवसायीको व्यवसाय अझ राम्रो हुने बताए ।

सुदूरपश्चिम प्रदेशस्थित शुक्रबारदेखि खुला भएका चार सीमा नाकामध्ये गौरीफन्टा र गड्डाचौकी नाकाबाट पहिलो दिन एकतर्फी आउजाउ भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नाका खुलेको बारेमा सुरक्षाकर्मीलाई आधिकारिक जानकारी नदिएका कारण दुवै नाकाबाट नेपालीलाई मात्रै आउजाउ गर्न दिइएको हो । नेपाली मात्रैको यसरी आउजाउ विगत केही महिनाअघिदेखि नै हुँदै आएको छ ।

गृह मन्त्रालयले शुक्रबारदेखि गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा–पुलाघाट नाका खुला गरेको छ । खुला गरिएको नाकाबाट स्वास्थ्य मापदण्ड अपनाएर नेपाल–भारतका नागरिकले आउजाउ गर्न पाउने छन् । गौरीफन्टा र गड्डा चौकी नाकाबाट पहिलो दिन नेपालीको मात्रै आउजाउ भएको छ । गौरीफन्टा नाकामा खटेका सशस्त्र प्रहरी एमडी पन्तका अनुसार पहिलेको जस्तै नेपालीलाई आउन र जान दिइएको छ ।

सो नाकामा रोजगारीका लागि भारततिर जानेको लामो लाइन लागेको थियो भने उताबाट फर्किनेको सङ्ख्या न्यून थियो । उपचार र किनमेलका लागि उतातिर गएका नेपाली मात्रै फर्किने गरेको पन्तले बताए । उनका अनुसार शुक्रबार करिब १५० जना नेपाली भारततिरबाट फर्किएका छन् । यसैगरी, झन्डै एक हजार मान्छे यताबाट भारततिर गएका छन् । झुलाघाट नाका अब पूर्णरूपमा खुलेको छ ।

व्यवसायीद्वारा स्वागत

सरकारले गरेको नाका खोल्ने निर्णय स्वागत योग्य रहेको होटल व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कलमबहादुर बमले बताए । ‘हामीले विगतदेखि नै नाका खोल्नु पर्ने माग राख्दै आएको हो र यसका लागि सरकारलाई दबाब पनि दिँदै आएका थियौँ,’ उनले भने, ‘सरकारले ढिलै भए पनि खोल्ने निर्णय गरेको छ, यो सकारात्मक कार्य हो ।’

भारतीय पर्यटक आउने अपेक्षा

रुपन्देहीको बेलहिया नाका पनि शुक्रबारदेखि सञ्चालनमा आएको छ । नाका सुचारु भएसँगै यहाँका होटल व्यवसायीहरूले भारतीय पर्यटक आउने अपेक्षा गरेका छन् । सिद्धार्थ होटल सङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु गौतमले बेलहिया नाकाबाट आवतजावत सुचारु भएसँगै पर्यटकीय वातावरण सिर्जना भएको सिद्धार्थ होटल सङ्घका वरिष्ठ उपाध्यक्ष विष्णु गौतमले बताए । नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले मालसामान आयात निर्यातमा रोकतोक नभए पनि मानिसहरूको आवागमन बन्द हुँदा पर्यटन क्षेत्र प्रभावित हुँदै आएको बताए ।

पर्यटन व्यवसायी खुसी

कोरोना सङ्क्रमणका कारण लामो समयसम्म बन्द रहेको नेपाल–भारत सीमा क्षेत्र विराटनगरको रानी नाका खुलेसँगै पूर्वका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । सीमा नाका बन्द हुँदा छिमेकी भारतको विहारबाट नेपालमा घुम्न आउने पर्यटक प्रभावित भएको भन्दै गुनासो गरिरहेका होटल व्यवसायीहरू उत्साहित भएका हुन् । ‘जोखिमकै कारण सरकारले लामो समयसम्म नाका खोल्न सकेन,’ होटल एसोसिएसन नेपालका प्रदेश–१ का अध्यक्ष राजन श्रेष्ठले भने, ‘बल्ल अलिक श्वास फेर्न सक्ने अवस्था भयो ।’

उनका अनुसार दैनिक विराटनगरको रानी (जोगबनी) नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको भरमा चलेका होटलहरू यसबीचमा निक्कै प्रभावित बनेका थिए । सरकारको निर्णयसँगै पर्यटन क्षेत्र पुनः लयमा फर्कनेमा अध्यक्ष श्रेष्ठको विश्वास छ । प्रदेश १ मा घुम्न आउनेमध्ये ७० प्रतिशत पर्यटक भारतीय रहेकोले सीमा जोडिएका जिल्ला मात्रै नभई पहाडी तथा हिमाली क्षेत्रका जिल्लामा सञ्चालित होटल व्यवसायमा समेत प्रभाव परेको व्यवसायीहरू बताउँछन् ।

सवारी साधनबारे अन्योल

बन्द रहेको नेपाल भारत सीमानाका ३० नाकाहरूलाई सरकारले खोल्ने निर्णय गरे पनि सवारी साधनको बारेमा ठोस निर्णय नगरिँदा सिमानामा अन्योल उत्पन्न भएको छ । सरकारले सिमाना पूर्णरूपमा खोल्ने निर्णय गरे पनि कार, मोटरसाइकल लगायतका निजी सवारी साधन ल्याउने लैजानेबारे कुनै प्रस्ट निर्णय नभएकोले अन्योल भएको छ ।

नेपालगन्ज नाकाबाट नेपाल र भारत दुवै देशका नागरिकलाई सहजरूपमा आवागमन गर्न दिइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले देशका ३० वटा नाकालाई आवागमनका लागि खोलिएको जनाउँदै व्यावसायिक सामान बोकेर ल्याउने सवारी साधन बाहेकका सवारी साधनका हकमा भने अनुमति लिएर मात्र ल्याउन लैजान पाइने बताए ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार ०९:५५