कालिकोट । तीन सातादेखि फैलिएको भाइरल ज्वरो भाइरल इन्फ्लुइन्जा भएको प्रमाणित भएको छ । सोमबार खाडाचक्र–४ ताडी दलित टोलका ६ जनाको घाटीको पानी ल्याव परिक्षणको लागि काठमाडौं राष्ट्रिय प्रयोगशालामा पठाइएकोमा सबैमा भाइरल इन्फुइन्जा भएको भेटिएको हो । ५ दिनअघि खाडाचक्र ४ एउटै गाउँबाट ६ वटा स्याम्पल पठाइएकोमा सबैमा भाइरल इन्फुइन्जा देखिएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए ।
‘कालिकोटबाट पठाइएका ६ जनाकै ल्याव परिक्षणमा भाइरल पोजेटिभ भेटियो,’ स्वास्थ्य प्रमुख डा. अलीले भने, ‘दुईजनामा बी पोजेटिभ र ४ जनामा ए एच थ्री पोजेटिभ पाइयो ।’ उनले इन्फुइन्जा भएपनि अहिले नियन्त्रणमा आइसकेको दावी गरे । उनले खाडाचक्र–२ मा पुरै नियन्त्रणमा आइसकेको र वडा नम्बर ४ मा पनि ९० प्रतिशत पुराना विरामी निको भइसकेको दावी गरे । ल्याब परिक्षणको लागि घाटीको पानी पठाइएका मध्ये ५९ वर्षीय मनसरे विक बाहेक ५ जनालाई ठीक भइसकेको जिल्ला स्वास्थ्य प्रमुख डा. अलीले बताए ।
ल्याव परिक्षणको लागि ७ वर्षीया प्रमिला विक, ३९ वर्षीय लालवहादुर विक, ५ वर्षीया जनपुरा विक, १३ वर्षीया मनिषा विक र साढे २ वर्षीय सरल विकको घाटीको पानी काठमाडौं पठाइएको थियो । बिहीवार जिल्ला स्वास्थ्य प्रमुख डा. अली, सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल, खाडाचक्र नगरपालिका स्वास्थ्य संयोजक डा. सुवास शर्मा, वडाध्यक्ष धनसिंह कामीसहितको टोलीले खाडाचक्र–४ मा विरामी अनुगमन गर्दा ९० प्रतिशत ठीक भएको जानकारी दिएको छ । तर, सोही वडाको चिउरेला टोलमा स्वास्थ्यकर्मी र औषधी कोही नपुगेको स्थानीयको गुनासो छ ।
गाउँमा विरामी परेका स्थानीयले जिल्ला अस्पताल पुग्दा पनि औषधी मेडिकलबाट किन्नु परेको सुनाए । ‘तपाईहरु गाउँ आएर जिल्ला अस्पताल आउनुहोस्, औषधी निःशुल्क पाइन्छ भन्नुहुन्छ,’ स्थानीय नर विश्वकर्माले गुनासो पोखे, ‘अस्पतालमा केही छैन भनेर सबै निजी मेडिकलमा किन्न लगाउँछन् ।’ कालिकोटको खाडाचक्रका दुईवटै वडामा महामारी नियन्त्रणमा आउने अवस्थामा रहेको सहायक प्रजिअ राजकुमार दुलालले बताए ।
खाडाचक्रको ५ नम्बर वडामा भाइरलका विरामी भेटिएपछि बिहीबार स्वास्थ्यकर्मीको टोली पठाएको छ भने सान्नीत्रिवेणी–७ मा पनि स्वासथ्यकर्मी खटाइएको जिल्ला स्वास्थ्यले जनाएको छ । त्यस्तै, तिलागुफा नगरपालिकाको चिल्खायामा पनि औषधीसहित स्वास्वाथ्यकर्मी परिचालन गरिएको नगर प्रमुख रतनबहादुर शाहीले बताए ।
किरीयापुत्रीलाई पनि भाइरलको संक्रमण
खाडाचक्र–४ दलित टोलमा फैलिएको भाइरल ज्वरोको संक्रमण क्रियापुत्री बसेका ब्यक्तिमा पनि देखिएको छ । खाडाचक्र–४ का २६ वर्षीय कमलको किरीयापुत्री बसिरहेको बेला ६ दिनअघि भाइरल ज्वरोको संक्रमण देखिएको हो । बिहीबार जिल्ला स्वास्थ्य प्रमुखसहितको टोली भेट्न जादा ज्वरोले थलिएको भेटिएको हो ।
विरामी मनसरेलाई आफन्तले बोकेर ४ दिन जिल्ला अस्पताल लगे पनि सञ्चो नभएपछि बुधवार किरीयापुत्रीको कर्म गर्न बोकेर घर ल्याएका थिए । उनको घाटीको पानी परिक्षण गर्दा भाइरल इन्फ्लुइन्जा देखिएको छ । उनको घरमा ६ वर्षीय सुवास विक पनि विरामी छन् ।
।