काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २.२ डिग्री सेल्यिस मापन गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
दिउँसो काठमाडौंको तापक्रम १८–२० डिग्री सेल्सियस पुग्ने छ भने मौसम सफा रहने नगरकोटीको भनाइ छ । विहान काठमाडौंको भिजिविलिटी चार किलोमिटर रहेको छ ।
आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पहरान्हपछि केही स्थानमा रहेको हुस्सु तथा कुहिरो हटे पनि अधिकांश क्षेत्रमा साँझसम्म रहने नगरकोटीले जानकारी दिइन् ।
बाक्लो हुस्सु र कुहिरोका कारण तराईमा सवारी साधन चलाउन पनि अफ्ठ्यारो हुने गरेको छ । तराईका जिल्लामा विहानको समयमा हवाई सेवासमेत प्रभावित हुने गरेको छ । विजिविलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या हुने गरेको छ ।
हुस्सु र कुहिरोको कारण तापक्रममा गिरावट आउँदा चिसो बढ्ने भएकाले यसबाट बच्न मौसमविद् नगरकोटी आग्रह गर्छिन् । चिसो बढेसँगै तराईका विभिन्न स्थानीय निकायले आगो ताप्न दाउरा वितरण गरेका छन् ।
तराइमा चोक–चोकमा दाउरा बालेर आगो ताप्ने चलन छ ।
।