सूचनाको शक्ति - The Power Of Information

        

जनकपुर यातायात कार्यालयमा अख्तियारकाे छापा, घुस रकमसहित दुई जना पक्राउ

महाेत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महोत्तरीको टोलीले जनकपुरको यातायात व्यवस्था कार्यालयमा छापा मारेको छ ।

गएराति करिब ६ घण्टा छापा मारेर टोलीले पौने ३ लाख बराबरको रकम सहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई पक्राउ गरेको छ ।

अख्तियारको टोलीले दिएको जानकारी अनुसार कार्यालय सहयोगकी कापरको कार्यालयमै रहेको कोठाको सोफा, खाट, दराज बाट २ लाख २३ हजार ८ सय रकम र दलाल भगतबाट ५० हजार घुस रकम टोलीले बरामद गरेको हो ।

बिचौलिया भगतले आफू ट्याक्टरको लाइसेन्सको लागि कार्यालयका कम्प्युटर अपरेटर अनिल गिरीलाई ५० हजार घुससहित पास गरिदिने सेवाग्राहीको नामावली बोकेर पुगेको टोलीलाई बयान दिएका छन् ।

उनले गिरीलाई रकम र नामावली दिन पुगेकै बेला अख्तियारको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो । कर्मचारीहरुले बिचौलियाको सेटिङमा यातायात व्यवस्था कार्यालयमा घुसखोरी, भ्रष्टाचार गरिरहेको जनगुनासो छ ।

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार ११:०३