सूचनाको शक्ति - The Power Of Information

        

वामपन्थी नेता कुँवरको निधन, आजै देवघाटमा दाहसंस्कार गरिने

चितवन । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ ।

मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत रोगबाट पीडित कुँवरको भरतपुर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो । एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिँदै आएको उनका पारिवारिक सदस्य नारायणसिंह कुँवरले जानकारी दिए ।

भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार उनको बिहान ८ः४५ बजे निधन भएको हो । उनको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदै छ । त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जली दिने कार्यक्रम छ ।

श्रद्धाञ्जली कार्यक्रममा कुँवरका राजनीतिक शिष्य नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसमेत आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए। पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ ।

विसं १९८४ वैशाख १० गते लमजुङको तत्कालीन थानसिंह बाङ्ग्रे गाविस वडा नं ७ मा बुबा ललितजङ्ग र आमा पुतली कुँवरको कोखबाट जन्मेका कुँवरले २०११ सालमा लमजुङमा गुणबहादुर गुरुङबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। विसं २०१५ मा चितवन झरेका कुँवरले सम्पूर्ण जीवन र आफ्नो जायजेथा पनि पार्टीलाई नै सुम्पिएका थिए ।

उनलाई विसं २०६८ मा चितवनमा नागरिक समाज र तत्कालीन माओवादी पार्टीले नागरिक अभिनन्दनसहित रथारोहण गराएको थियो । यस्तै विसं २०६९ मा नेपाल सरकारले उनलाई सुप्रबल जनसेवाश्री विभूषणद्वारा सम्मानित गरेको थियो ।

जीविकोपार्जनका लागि भारत जाँदा २००७ सालमै भारतीय कम्युनिष्ट पार्टीका नेता अमृत डाँगीको सङ्गतमा परेपछि उनी नेपालमै फर्किएर वर्गीय आन्दोलनमा होमिएका थिए ।

विसं २०१४ मा नन्सेन्टर जिल्ला कमिटीको नेतृत्वमा रहेका उनी त्यसपछि मोहनविक्रम सिंह, शम्भुराम, मनमोहन अधिकारी निर्मल लामालगायतका नेतासँगै न्यूक्लियस सङ्गठन गरेर सङ्गठन विस्तारमा लागेका थिए ।

विसं २०३१ मा मोहनविक्रम सिंह महामन्त्री रहेको चौथो महाधिवेशनमा पोलिटब्यूरो सदस्य भएका उनले गण्डकी, नारायणी, लुम्बिनीलगायत क्षेत्रमा रहेको आफ्नो जिम्मेवारी पूरा गरेका थिए ।

विसं २०३४ मा गोरखाको आरुघाटमा प्रगतिशील शिक्षकका लागि नेकपा चौमको प्रशिक्षण कार्यक्रम भएको थियो । त्यसका प्रशिक्षक कुँवर थिए । प्रशिक्षार्थीमध्ये एक पुष्पकमल दाहाल पनि थिए । त्यही प्रशिक्षणबाट प्रभावित भएर विसं २०३५ मा शिक्षक पेशा छोडेर दाहाल दीर्घकालीन कार्यकर्ता भएको बताइन्छ ।

विसं २०४८ मा नेकपा माओवादी गठन भएपछि निरन्तर केन्द्रीय सल्लाहकार समिति सदस्य रहेका खम्बासिंह जनयुद्धकालमा भूमिगत थिए । उनका एक छोरा र चार छोरी छन् ।

दाहाल–नेपाल​द्वारा श्रद्धान्जली

कुँवरको निधनप्रति नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाललले कुँवरप्रति श्रद्धान्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गेका छन् ।

अध्यक्षद्वय दाहाल–नेपालले मंगलबार सामूहिक श्रद्धाञ्जली जारी गर्दै कुँवरको निधनले सिंगो कम्युनिस्ट आन्देलनले एक अथक योद्धा र अभिभावक गुमाएको जनाएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार १३:०२