बर्दिया । रणनीतिक महत्वका हिसाबले अत्यन्तै व्यस्त पूर्व–पश्चिम राजमार्ग ! जहाँ दैनिक सयौँ साना ठुला सवारीसाधनहरू आवतजावत गर्छन् । तर, यो राजमार्ग पछिल्लो समय ‘खाडलमार्ग’ बनिसकेको छ । यात्रुहरूलाई यात्रा गर्न निकै सकस हुने गरेको छ । एउटा खाडल पार गर्न नपाउँदै अर्को खाडल आउने, अनि खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रा गर्नै डराउने अवस्था सिर्जना भएको थियो ।
राजमार्गको रम्भापुरदेखि कर्णाली चिसापानीसम्म यस्तै सयौँ साना–ठूला खाल्डाखुल्डी थिए । चुस्त र दुरुस्त राख्नुपर्ने राजमार्ग निकै समययता खाडलमार्गको हालतमा पुगेको थियो । तर, सरोकारवाला निकायले मर्मत–सम्भारमा चासो दिएको थिएन । सडक डिभिजन कार्यालयले महिनौंअघि नै मर्मत भइरहेको बताउने गरेको थियो, तर खाल्डामा माटो हाल्नेबाहेक अरू काम भएको देखिएको थिएन । अहिले भने सडक विभागले खाल्डाखुल्डी मर्मतको काम थालेको छ ।
बर्दियाको बासगढी क्षेत्रमा खाल्डाखुल्डी पर्ने काम सम्पन्न गरेको सडक विभागले अहिले भुरिगाउँ आसपासमा पनि सडक मर्मत थालेको छ । खाल्डाखुल्डीका कारण सडक दुर्घटनाको जोखिम पनि बढेको भन्दै स्थानीयले पटकपटक खाल्डो पुर्न माग गर्दै आएका थिए । यसअघि खाल्डोमा ग्राभेलमात्रै हालेर टार्दै आएको सडक विभागले अहिले भने सडक भत्केका ठाउँमा कालोपत्रे गरिरहेको छ ।
कर्णाली चिसापानी क्षेत्रसम्म तत्काल खाल्डो मर्मत गरिने सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख हुमबहादुर एसीले बताए । अब छिट्टै नै स्थानीयले राजमार्गमा सुरक्षितसाथ यात्रा गर्न पाउने उनले बताए । स्थानीयले सडक मर्मत गर्न सडक विभागले लापरबाही गरिरहेको बताएपनि प्रमुख एसीले मौसम तथा नीतिगत कुराहरूका कारण मर्मतमा ढिलाई भएका बताए । अहिले भने तीव्रगतीमा सडक मर्मतको काम चलिरहेको उनले जानकारी दिए ।
बर्दियाको रम्भापुरदेखि भुरिगाउँ हुँदै कर्णाली चिसापानी खण्डमा पर्ने राजमार्गमा जताततै खाडल भएका कारण सवारीसाधन चलाउन निकै सकस पर्ने गरेको सवारी चालकहरूले बताउँदै आएका थिए । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सडक मर्मतको काम चाँडै सम्पन्न गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएकाले अब छिट्टै नै राजमार्गमा पहिलेको जसरी नै यात्रा गर्न सकिने बताए ।
निकुञ्ज क्षेत्रको सडक वरपर झाडी पन्छाइँदै
सडक विभागले बर्दिया निकुञ्ज क्षेत्रमा सडकको दायाँबायाँ झाडी सफाइको काम समेत थालेको छ । बर्दिया निकुञ्ज हुँदै गएको राजमार्गमा पछिल्लो समय वन्यजन्तुबाट आक्रमण जोखिम बढिरहेको छ । अत्यन्तै व्यस्त राजमार्ग भएकाले मानिसहरू पनि उत्तिकै आवतजावत गर्ने र वन्यजन्तुको मुख्य बासस्थान, विशेषगरी पाटेबाघ ओहोरदोहोर गर्ने मुख्य थलो भएकाले राजमार्गको अम्रेनी चिसापानी खण्डमा वन्यजन्तुबाट आक्रमणका घटना बढिरहेको छ । मानव र वन्यजन्तु दुबै जोखिममा रहेको भन्दै सडकको दायाँबायाँ झाङ्गिएको झाडी सफाइको माग गरिएको थियो ।
अहिले सडक विभागले राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर सडकको दायाँबायाँ झाडी सरसफाई शुरू गरेको प्रमुख एसीले बताए । बर्दियाका सरोकारवालाले राजमार्ग क्षेत्रमा सडकको दायाँबायाँ ३१–३१ मिटर सरसफाई गर्न माग गरेका थिए । सडक विभागले भने तत्काल ३१–३१ मिटर सम्भव नभएको भन्दै अहिले १५–१५ मिटर दायाँबायाँ झाडी सफाई गरिने बताएको छ । १५–१५ मिटर मात्रै पनि सफाई गरिएको खण्डमा यात्रुले टाढैबाट जनावर आवत जावत गरिरहेको देख्न सक्ने र सावधानी अपनाउनसक्ने भएपछि मानव र वन्यजन्तु दुबै जोखिमबाट बच्न सक्ने जनाइएको छ ।
।