सूचनाको शक्ति - The Power Of Information

        

समाचार

नेपालगन्जलाई प्लास्टिकमुक्त सहर बनाउने अभियान अलपत्र

बाँके । नेपालगन्जलाई प्लास्टिकमुक्त बनाउन सुरु भएको अभियान अलपत्र परेको छ । उपमहानगरपालिकाले अभियान सुरु गरेको दुई वर्ष पुग्न लागे पनि उक्त अभियानले अझै सफलता पाउन सकेको छैन । आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा उपमहानगरपालिकाले एक वर्षमै नगरलाई प्लास्टिक झोलामुक्त गरिने भनेको थियो ।

अहिलेसम्म पनि सो निर्णयलाई पूर्णरूपमा पालना भएको छैन । सहरलाई प्लास्टिकमुक्त बनाउने घोषणा गरेर प्लास्टिकका झोला तथा अन्य सामानको बिक्री वितरणमा रोक लगाइए पनि अनुगमन र निगरानी नगर्दा अझै सहरमा चारैतिर खुलारूपमा प्लास्टिकका झोलाहरू प्रयोगमा आइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।

नागरिक सरोकार समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठले नगरलाई प्लास्टिकमुक्त बनाउने अभियान नाममा मात्रै सीमित भएको बताए । उनका अनुसार सहरलाई प्लास्टिकमुक्त बनाउने भनेर घोषणा गरेको दुई वर्ष पुग्न लागे पनि प्लास्टिक प्रयोगमा कुनै कमि आएको देखिँदैन । सहरमा अझै पनि जताततै प्लास्टिकका डङ्गुर देख्न सकिन्छ ।

सो अभियान सुरु गरिएपछि कतिपयले त प्लास्टिकका झोला व्यवस्थापनका लागि भन्दै कागज र कपडाका झोलासमेत बनाउन थालेका थिए । केहीले कपडाको झोला बनाउने उद्योग नै सञ्चालन गरेका थिए । उपमहानगरपालिकाको प्लास्टिकमुक्त सहर घोषणा अभियान कागजमै सीमित रहेको स्वयं वडा अध्यक्षहरूले नै बताएका छन् ।

नेपालगन्ज २३ का वडाध्यक्ष बल्लन कबडियाले ठूलो तामझामका साथ यो अभियान सुरु गरिए पनि पछि कसैले वास्ता नगर्दा घोषणा कागजमा सीमित बनेको बताए । स्थानीय बासिन्दा राजन रानामगरले उपमहानगरपालिकाले सस्तो लोकप्रियताका लागि घोषणा मात्र गर्ने अनि त्यसलाई अनुगमन र कार्यान्वयन नगर्ने गरेकोले अभियान सफल नहुने गरेको दाबी गरे ।

सो बारेमा नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख उमाथापा मगरले सहरलाई प्लास्टिकमुक्त बनाउने अभियान जोडतोडका साथ सुरु भए पनि कोभिडका कारण प्रभावित भएको बताइन् । उनका अनुसार यस वर्ष कोभिडका कारण सबैको ध्यान कोभिडतिरै मोडिएको र बजेटसमेत कोभिडका कारण फ्रिज भएकोले अभियानले गति लिन नसकेको हो ।

प्रकाशित मिति : १३ माघ २०७७, मंगलवार ०७:३४