बर्दिया । लोप हुँदै गएको कृष्णसारको संख्या अहिले विश्वभर ५० हजार हाराहारीमा छ । यो वन्यजन्तुको प्राकृतिक वासस्थान अब नेपाल र पाकिस्तानमा मात्र छ । तर नेपालमा कृष्णसार जोगाउन हम्मेहम्मे परिरहेको छ । संसारमा २ उपप्रजातिका कृष्णसार पाइन्छ । नेपालमा पाइने कृष्णसारलाई एन्टीलोप सर्भी काप्रा भनिन्छ ।
अहिले बर्दियाको कृष्णसार संरक्षण क्षेत्र, खैरापुरमा २०० वटा कृष्णसार रहेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले व्यवस्थापन गरेको चिडियाखाना उपयुक्त नदेखिएपछि त्यहाँ रहेका कृष्णसारलाई शुक्लाफाँटा निकुञ्जमा स्थानान्तरण गरिएको छ । संख्या हेर्दा चाहिँ नेपालमा कृष्णसार बढिरहेको छ । वि.सं. दशमलव २०३२ सालमा बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुरमा ९ वटा कृष्णसार रहेकोमा हाल बढेर २०० वटा पुगेको छ ।
तर, २०७१ सालमा आएको बाढीका कारण केही कृष्णसार बगेर बेपत्ता भएका थिए । बाढी आउनुअघि कृष्णसारको संख्या झण्डै ३ सयसम्म पुगेको थियो । सो बाढीका क्रममा १ सय वटा कृष्णसार मारिएको थियो । खैरापुर गाउँ आसपासमा बसोबास गर्ने शाकाहारी यादव लगायतका समुदायको बसोबास रहेका कारण संरक्षणमा ठूलो टेवा पुगेको छ । त्यस क्षेत्रका स्थानीयले कृष्णसारलाई भगवानको वाहनका रूपमा पनि मान्ने गर्दछन् ।
संसारबाटै लोप हुने अवस्थामा
कृष्णसार समथर घाँसे मैदान, खुल्ला क्षेत्र, भएको ठाँउमा बस्न रुचाउँछ । भुस्याहा कुकुर, चितुवाको आक्रमण तथा वासस्थान विनाशका कारण यो प्राणी संसारबाटै लोप हुने अवस्थामा पुगिसकेको छ । कृष्णसारको भालेको तौल ३५ देखि ५० र पोथीको २५ देखि ४० किलोग्रामसम्म हुन्छ । भालेको लम्बाइ १ दशमलव ९ मिटरसम्म र पोथीको १ दशमलव ४ मिटरसम्म हुन्छ । उचाइ ० दशमलव ९ देखि १ मिटरसम्म हुन्छ । सामान्यतयाः पोथी ८ महिनादेखि १ वर्ष र भाले १ देखि २ वर्षको उमेरमा वयस्क हुन्छ ।
गर्भधारण अवधि १ वर्षको हुन्छ । कृष्णसारले एक पटकमा एउटा मात्र बच्चा जन्माउँछ । भाले कृष्णसार वयस्क हुँदै गएपछि ६ महिनापछि सिङ निस्कन थाल्छ । सामान्यतयाः कृष्णसारको औषत आयु १२ वर्ष हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा कृष्णसारलाई नेपालको संरक्षित वन्यजन्तुमा सुचीकृत गरिएको छ । कृष्णसार मार्न, वा कुनै पनि अंग ओसारपसार गर्न, व्यापार गर्न र घरमा राख्न प्रतिबन्ध लगाइएको छ । यस्तो कार्यमा संलग्न हुने व्यक्तिलाई ४० देखि ७५ हजार रुपैयाँ जरिवाना वा २ देखि १० वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
।