दरबार हत्याकाण्ड जसमा तत्कालीन नरेश विरेन्द्र वीरविक्रम शाहको सपरिवार मारिए । त्यो हत्याको कारण सत्ता नै थियो भनी विभिन्न विज्ञ र लेखकहरुले लेखेकै छन् । त्यो दरबार हत्याकाण्ड जनताका लागि भएको थिएन । हत्या पश्चात पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह राजगद्दीमा बसे, तर धेरैदिन उनको शासन टिक्न सकेन् ।
जनता आन्दोलित भए जसको फलस्वरूप उनले गद्दी छाड्नुपर्यो यसरी राजतन्त्रको अन्त्य भयो । तर त्यसबाट पनि आमजनतालाई फाइदा पुगेन् । फाइदा पुग्यो त देशका ठुलाठुला नेताहरुलाई जो देशको मन्त्रजस्ता पदमा आसीन भए । त्यसपछि कुरा गरौं १२ वर्षे माओवादी जनयुद्धको जो सर्वहाराको लागि भनियो ।
तर शान्ति सम्झौतापछि आन्दोलनका मुखियाहरुले सत्तामा भागिदारी र साझेदारी पाएर मुद्दा विसर्जन गरे । तत्कालीन लडाकु, छापामार, शहीद र आन्दोलनकारीहरुको हात पर्यो त केवल निराशा । किनभने अहिले पनि यस्ता शहीद, लडाकु र छापामारहरु छन्, जो माओवादी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे पनि पार्टीले उनीहरुलाई उपेक्षा र बेवास्ता गरेको छ ।
अब कुरा गरौं मधेश आन्दोलनको जो मधेशीहरुको सत्ता साझेदारी, सहभागिता, समानता, समान अधिकार स्थापनाजस्ता मुद्दामा आधारित थियो । जसले भनेका थिए कि, हामी मधेश र मधैशीहरुको मसीहा हौं । जसमा तमाम व्यक्तिहरु शहीद भए, कोही बेघरबार भए, कोही टुहुरा भए । आन्दोलनका नेतृत्वकर्ताहरु सत्तामा पुगेर मुद्दा विसर्जन गरे ।
हाल अवस्था यो छ कि रोटीबेटी, धर्मकर्म र रोजगारसँगको नाता भएको भारत सीमा कोरोनाको नाममा हाल एक वर्ष हुन आटेछ, तर बन्द छ । जसका कारण मधेशका जनताहरु कठिनाई भोग्न बाध्य छन् । तर मधेश र मधेशीहरुको मसीहाहरुको अत्तोपत्तो छैन ।
माथिका सबै आन्दोलनहरुको समिक्षा र विश्लेषण गर्दा मैले पांए कि जति पनि आन्दोलन भए र हुँदैछन् त्यो जनताको हकहितका लागि सुशासनको लागि नभएर केवल एउटा व्यक्ति (आफ्नो दल वा मन नपर्ने)बाट अर्को व्यक्ति (आफ्नो दल वा मन पर्ने)लाई सत्ता हस्तान्तरण गराउने उद्देश्यले मात्र भए र गराइए ।
यी तमाम आन्दोलनहरु कुनै ठुलो नेता वा उसका आफन्त शहीद भएनन्, शहीद भए त आम जनता । त्यसकारण अब जनता होसियार हुन आवश्यक छ । अब दल र व्यक्तिलाई नभएर शासन व्यवस्थालाई बलियो बनाई विधिको शासन व्यवस्था स्थपित गर्न गराउन आ आफ्नो ठाउँ र स्तरबाट पहल गर्नुपर्छ ।
।