सूचनाको शक्ति - The Power Of Information

        

बजारमा बेतिथि

कोहलपुरमा होटल म्याक्सको ब्रम्हलुट, ‘१२४ रुपैयाँमा दुई बोत्तल पानी !’

बाँके । बाँकेमा पाइला–पाइलामा उपभोक्ता ठगिन थालेका छन् । पछिल्लो समय यहाँका एकाध ठूला व्यवसायीको दादागिरीका कारण उपभोक्ता ठगिने क्रम बढेसँगै उपभोक्ताका अधिकार हनन भइरहेको छ । सरोकारवाला निकायले नियमित बजार अनुगमन नगर्दा उपभोक्ता ठगिने क्रम बढेको छ ।

सरकारी उदासिनता, लापरवाही र सेटिङ्गका कारण यहाँको खुला बजारदेखि तारे होटलमा समेत दादागिरी शैलीमा मनोमानी मुल्य तोकिँदा आमउपभोक्ता ठगिएका घटना बाहिर आउन थालेका छन् । बाँकेको कोहलपुरमा सञ्चालित म्याक्स होटलले चार तारेका निहुँमा मिनरल वाटर पानीमै ब्रम्हलुट गरेको खुलेको छ ।

बाहिर बजारमा २० मा र उद्योगमा १० देखि १२ रूपैयाँसम्ममा खरिद हुने मिनरल वाटर यहाँ तारे होटलकै नाममा दुई वोतलको १२४ रूपैयाँ मुल्य रहेको देखिएको छ । २०७७ वैशाख १ गतेबाट सञ्चालनमा रहेको उक्त होटलमा यसरी पानीमै ब्रम्हलुट हुन थालेपछि आन्तरिक तथा बाहिर आगन्तुहरूमा आशंका उत्पन्न हुन थालेको छ ।

भर्खरै बामे सर्न थालेको उक्त होटल यतिबेला कोहलपुर क्षेत्रको आकर्षण होटल मध्येको एक हो । उक्त होटलले दुई वोतल मिनरल वाटको १२४ रूपैयाँ बिल थमाएपछि खुरूक्क विल तिरेर हिँडेका एक सेवाग्राहीले आफनो टिकटक एकाउन्टमार्फत टिकट भिडियो नै बनाएर उक्त होटलको ब्रम्हलुट सार्वजनिक गरेका छन् ।

यस बिषयमा म्याक्स होटलका म्यानेजर तथा सेल्स प्रमुख पूर्णा परियारले उक्त भिडिओ आफूले पनि देखेको भन्दै यसबारे विस्तृत थाहा नभएको बताइन् । बजार मुल्यमन्दा तारे होटलमा केही बढी मुल्य हुने स्पष्ट पार्दै उनले भनिन्, ‘म्याक्समा एक वोतलको ४० रूपैयाँ मुल्य हो, यसमा भ्याट र सेवा शुल्क जोडदा ४९ रूपैयाँ ७२ पैसा जति प्रतिवोतल पर्न जान्छ ।’

उनकाअनुसार पनि दुई बोतल पानीको १२४ रूपैयाँ म्याक्सको रेटभन्दा धेरै हो । ‘बजारमा एकदमै प्रतिस्पर्धा छ,’ उनले भनिन्, ‘गुणस्तरलाई खस्काउन पनि कोही कसैले अनेकथरी भन्न सक्छन् यसलाई बुझ्नुपर्छ ।’ यसरी उपभोक्ता ठगिँदासमेत बाँके प्रशासन र उपभोक्ता हकहित संरक्षण मञ्च लगायतका निकायले बजार अनुगमन त परै जाओस्, यहाँका साना, मझौला, ठुला र तारे होटलमा अनुगमन गर्ने आँटसमेत गरेका छैनन् ।

सहायक सिडिओको संयोजकत्वमा रहेको जिल्ला अनुगमन समितिसमेत बजार तथा यस्ता साना, ठुला र तारे होटल अनुगमनमा उदासिन देखिएको छ । आम उपभोक्ता बजारमा ठगिँदै छन्, होटलमा लुटिदैछन् । उपभोक्ता हकहित संरक्षण समिति भने चुपचाप छ । कोहलपुर होटल व्यवसायी संघका अध्यक्ष एकनारायण चापागाई म्याक्स होटलले बिक्री गरेको दुई बोत्तल पानीको मुख्यका बारेमा गुनासो आएको बताए ।

यसबारे संघले होटल पक्षसँग बुझ्ने र होटलको मापदण्ड अनुसार मुल्य बनाएर तत्काल उपलब्ध गराउने उनी बताउँछन् । यसरी होटलमा मुल्य सूची नहुनु उपभोक्ता एक बोतल पानीमा ठगिनु, तारे होटलका नाममा सेटिङ्गमा हुने कारोवार रोकथाममा स्थानीय प्रशासन र सरोकारवाला निकायको ध्यान कहिले जान्छ ?’ उपभोक्ता दीपक केसीले भने, ‘तारे होटलसँगै प्रभावकारी बजार अनुगमन जरूरी देखिएको छ ।’

ठुला होटलसँग प्रशासक र प्रहरी तथा अनुगमनकर्ताको गतिलै सेटिङ्ग हुने र उनीहरूलाई बर्षेनी कमिशन आइरहने हुँदा अनुगमन हुन नसकेको उपभोक्ताहरु बताउँछन् । सामाजिक सञ्जालमा समेत अहिले दुई बोत्तल पानीको विषयले चर्चा पाइरहेको छ । बैजनाथका सुनिल रसाइलीले होटल म्याक्सको पानीमा ब्रम्हलुटका बारेमा ‘यो त अति भो’ भनेका छन् । अर्का उपभोक्ता थीर विष्टले लुटेरा हो कि के हो ? भनेर प्रतिप्रश्न गरेका छन् ।

‘बाहिर २० रुपैयाँ पर्ने पनि त्यहाँ महँगोमा किनेर खाँदा छुट्टै सान हुन्छ । धेरै पैसा हुनेहरूका लागि हो । तिर्नेले तिरी रा’छन् त हामीलाई के फरक पर्यो !’ खेम शर्माले लेखेका छन् । नेपालगन्ज होटल व्यवसायी संघका अध्यक्ष भीम कँडेल नेपालगन्जका सबैखाले होटलमा मुल्य सूची राख्न थालिएको बताउँछन् । उनकाअनुसार कोहलपुर क्षेत्रका होटलमा त्यहाँको संघले पनि तत्काल पहल गर्नुपर्छ ।

बजारमा चरम विकृति बढेको छ । बाँकेको नेपालगन्ज र कोहलपुरका सतप्रतिशत साना, मझौला, ठुला होटलमा अहिले पनि मुल्यसूची उपभोक्ताले देख्ने गरी राखिएको छैन । जिल्लाका तारे भनिएका होटलमा नेपाल उद्योग वाणिज्य संघका वा सम्बन्धीत निकाय तोकेको नभई आफू खुशी मुल्य सूची राख्ने गरिएको छ । यसैको फलस्वरूप कोहलपुरको होटल म्याक्सले दुई बोतल मिनरलको १२४ बिल थमाएको हो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार ११:५०