सूचनाको शक्ति - The Power Of Information

        

शिक्षा र स्वास्थ्यमा न्यून लगानी, प्रतिफल उस्तै


यमनाथ घिमिरे । बर्दिया । प्रत्येक बर्ष स्थानीय कर असुलीमा बृद्धि गर्दै आएको गुलरिया नगरपालिकाले शिक्षा र स्वास्थ्यसँगै अन्य सार्वजनिक सेवामा भने लगानी बढाएको छैन । स्थानीय बासिन्दा र व्यवसायीबाट करवापत संकलन गरेको रकम सेवामूलक क्षेत्रमा लगानी नगर्दा जनताले चाहे जस्तो प्रतिफल प्राप्त गर्न ढिलाइ भएको बताएका छन् । नगरपालिकाले स्थानीय करवापत संकलित रकम शिक्षा, स्वास्थ्य र शुद्ध खानेपानी लगायत जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने सेवामूलक क्षेत्रमा लगानी गर्नुपर्ने स्थानीयको माग छ ।
नगरमा १३ हजार ६४ घरधुरी छन् । नगरपालिकाले प्रत्येक घरधुरीबाट वार्षिक १ हजार ४५९ रूपैयाँ कर उठाउँछ । तर संकलित रकम निरक्षता अन्त्य गर्ने कार्यमा लगानी भएको छैन । नगरमा ६८ हजार १६४ कुल संख्यामा ३४ हजार ८५४ पुरुष र ३३ हजार ३१० महिला छन् । नगर क्षेत्रमा ४८ प्रतिशत महिला निरक्षर छन् । यस्तो अवस्थाका महिलालाई साक्षर बनाउन नगरले संकलित करबाट शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ । तर, नगरपालिकाले प्रमुख आम्दानीको स्रोत स्थानीय करलाई अनुत्पादक क्षेत्रमा खर्च गर्दै आएको छ । कार्यालय व्यवस्थापन, तलब भत्ता, कर्मचारी कल्याण कोषसँगै बैठक भत्तामा खर्च गर्ने गरेको छ ।
आर्थिक बर्ष २०७३/०७४ मा आम्दानीमध्ये नगर सरसफाई ,आर्थिक सहायतामा थोरै मात्र लगानी गरेको देखिन्छ । नगरपालिकाले आर्थिक सहायतमा २० हजार १००, नगर सरसफाईमा २ लाख ८५ हजार २९७ रुपैयाँ खर्च गरेको देखिन्छ । हुन त विकास निर्माण कार्यमा पनि लगानी गरेको छ । सडक, कल्भर्ट, पुलपुलेसाजस्ता सार्वजनिक निर्माण कार्यमा खर्च गरेको देखिन्छ । तर अपरिहार्य शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षातर्फ भने लगानी अति न्यून छ । नगरपालिकाले आर्थिक बर्ष २०७१/०७२ मा ४९ लाख २१ हजार ६५०, आर्थिक बर्ष २०७२/०७३ मा ७६ लाख ३० हजार २५५, २०७३/०७४ मा ९४ लाख १५ जार ५८४ रुपैयाँ स्थानीय कर संकलन गरेको देखिन्छ ।
नगरपालिकाले स्थानीय कर, सेवा शुल्क, दस्तुर, बिक्री स्रोत परिचालन र अन्य शीर्षकमा आन्तरिक स्रोततर्फको आम्दानी संकलन गर्दछ । प्रत्येक बर्ष आन्तरिक स्रोततर्फको आम्दानी बढ्दो रहेको छ । आर्थिक बर्ष २०७१/०७२ मा आन्तरिक स्रोततर्फ १ करोड ८ लाख ८३ हजार ६४७ रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक बर्ष २०७२/०७३ मा १ करोड ३८ लाख ५३ हजार ३०९ रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानीमध्ये ७६ लाख ३० हजार २५५ रुपैयाँ स्थानीय करबाट संकलन गरिएको थियो । आर्थिक बर्ष २०७३/०७४ मा आन्तरिकतर्फ १ करोड ९० लाख ७० हजार ४२० रुपैयाँ आम्दानी गरिएकोमा ९४ लाख १५ हजार ५८४ रुपैयाँ स्थानीय करको थियो ।
चालु आर्थिक बर्ष २०७४/०७५को साउनदेखि मंसीर मसान्तसम्म कार्यालयले ६८ लाख ८६ हजार १३२ रुपैयाँ आन्तरिक स्रोत उठाएकोमा ३५ लाख ४० हजार १४२ रुपैयाँ स्थानीय करबाट संकलन गरेको थियो । मालपोत तथा भूमिकर बक्यौता, घरजग्गा कर बक्यौता, बहाल कर, बटौरी कर, व्यवसाय कर, सवारी दर्ता कर, सम्पति कर र विज्ञापन शीर्षकमा कर असुली गर्दै आएको छ । स्थानीय कर, सेवा शुल्क दस्तुर, बिक्री, स्रोत परिचालन र अन्य शीर्षकमा नगरपालिकाले आन्तरिक स्रोत खडा गर्दछ । लक्ष्य अनुसार कर उठाए पनि नगर क्षेत्रका सबै व्यवसायीहरुलाई व्यवसाय कर, सवारी करमा आबद्ध गाउन नसेको स्वीकर गर्दै नगरपालिका राजश्व शाखा प्रमुख केशवराज खनालले अब संकलन गरिने करवापतको रकम वडा तथा टोलस्तरका शिक्षा कार्यक्रम प्रभावकारी बनाउन खर्च गर्ने बताए ।
वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने अभिभावकलाई मासिक ५०० रुपैयाँ, सुत्केरी गराउन सहयोग गर्ने स्वयंसेविकालाई प्रतिब्यक्ति २५० रुपैयाँ दिएर नगरवासीको स्वास्थ्य विकासमा सहयोग गर्दै आएको बताए । नगरपालिकाले आर्थिक बर्ष २०७३/०७४ मा स्थानीय विकास मन्त्रालयबाट प्राप्त रकममध्ये २६ जनालाई २६ हजार, जन्म दर्ता गराएका २३६ जना अभिभावकलाई ५०० का दरले १ लाख १८ हजार र ७२जना स्वयंसेविकालाई २५० का दरले ४३ हजार रकम उपलब्ध गराएको छ ।
सरकारबाट प्राप्त अनुदान रकमबाट नगरपालिकाले १० कक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई प्रतिव्यक्ति १५ हजारका दरले र अति गरिब बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउने गरेको भए पनि स्थानीय करबाट भने शिक्षा तथा स्वास्थ्यमा चासो दिएको छैन । सरकारबाट प्राप्त अनुदानबाट ३ स्थानमा नगर स्वास्थ्य क्लिनिक संचालन, विद्यायलमा भौतिक पूर्वाधार निर्माण, चार वटा विद्यालयमा हात धुने व्यवस्था, प्रत्येक विद्यालयमा सरसफाई कोषको स्थापना र शौचालयको व्यवस्था मिलाउने जस्ता शैक्षिक तथा स्वास्थ्य विकासमा काम गरेको बताए ।
भुगोल, जनसंख्या र गरिबीको तहलाई आधार मानेर सरकारबाट प्राप्त निशर्त अनुदान र स्थानीय करसहितको आन्तरिक स्रोतको गरी नगरपालिका आर्थिक बर्ष २०७४/०७५ का लागि प्रस्तावित गरेको ३६ करोड बजेट रकम शिक्षा, स्वास्थ्य, खानेपानी, पशु, कृषि, आयुर्वेद, महिला तथा बालबालिका सम्बन्धी योजनालाई प्राथमिकता दिई खर्च गरिने योजना भए पनि नगरवासीबाट प्रत्येक बर्ष लिइँदै आएको स्थानीय करलाई स्थानीयको शिक्षा तथा स्वास्थ्यमा लगानी गर्नुपर्ने बताउँछन् सामाजिक अभियन्ता अनुप यादव ।

प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार ०७:०४