सूचनाको शक्ति - The Power Of Information

        

विचार

जलवायु परिवर्तन : प्रभावित पर्यटन

अहिले पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव चुलिँदै गएको छ । जलवायु परिवर्तनले हाम्रा पर्यटकीय क्षेत्रहरु प्रभावित भइरहेका छन् ।

नेपालको सन्दर्भमा पर्यटनको इतिहास लामो नभए पनि आज पर्यटन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग र प्राथमिकताको क्षेत्र बनिसकेको छ । सामान्य अर्थमा पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा रमाइलोका लागि घुमफिर गर्न जानु भन्ने बुझिन्छ । १९ औं सताब्दीसम्म अस्तित्वमै नआएको पर्यटन शब्द २१ सौं सताब्दीसम्म आइपुग्दा विश्वकै प्रमुख र उच्च प्रतिस्पर्धात्मक उद्योगका रुपमा स्थापित भइसकेको छ । नेपाल क्षेत्रफलका आधारमा सानो र आर्थिकरुपले विपन्न राष्ट्र भए पनि यहाँको प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण आज पनि नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरुमध्ये एकका रुपमा परिचित छ ।

नेपालमा प्राकृतिक, साँस्कृतिक, धार्मिक, खेलकुद, स्वास्थ्य तथा मनोराजन पर्यटन आदिको उत्तिकै सम्भावना भए पनि विगतका गतिविधिलाई हेर्दा नेपाललाई साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य स्थल मानिएको छ । नेपालको धरातलीय तथा जलवायु विविधताले साहसिक तथा मनोराजनात्मक र प्राकृतिक पर्यटनलाई आकर्षक बनाएको छ । जहाँ पर्यटनको विकास हुन्छ, त्यहाँ आर्थिक उन्नतीले गतिलो मार्ग प्राप्त गर्छ । देशको अर्थतन्त्रलाई सफल बनाउने हो भने सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । एउटा पर्यटन कुनै ठाउँमा मनोरञ्जनका लागि होस् वा त्यस क्षेत्रको अवलोकन गर्न, जुन कामले गए पनि उसलाई आवश्यक पर्ने सेवा सुविधाहरुमा रकम खर्च गर्नुपर्ने हुन्छ ।

उसले खर्च गरेको रकमले व्यवसायीको आर्थिक जीवनस्तरमा सुधार गर्नुका साथै देशको आर्थिक उन्नतीमा समेत सहयोग पुराउने गर्दछ । त्यसैले नेपालको अर्थतन्त्रलाई पनि उच्च विन्दुमा राख्नका लागि सबैभन्दा पहिले पर्यटन क्षेत्रको विकास गर्न जरुरी छ । विगतका पर्यटनसम्बन्धी गतिविधि हेर्दा केही अपवाद बाहेक बर्षेनी पर्यटकहरुको आगमन संख्या बढ्दो छ र यसै तथ्यलाई आधारमानी पर्यटन विकास र प्रवद्र्धनले पनि निरन्तरता पाउँदै आएको छ । विगतमा गरिएका सर्भेक्षण र प्राप्त तथ्यांकअनुसार नेपालमा पर्यटकहरु अन्य उद्देश्यको तुलनामा मनोरन्जन घुमफिर र विदा मनाउने उद्देश्यले ६० प्रतिशतभन्दा बढी आउने गर्दछन् ।

राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासका लागि पर्याप्त सम्भावना बोकेको क्षेत्र भएकाले नेपाल सरकारले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि जोड दिँदै कार्यक्रम योजना नीति तथा रणनीतिहरु तय गरेको छ । देशको अस्थिर अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई यो प्रयास सम्वृद्धिको एउटा खुड्किलो सावित हुन सक्छ तर यसका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भएकाले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै क्षेत्रहरुको पहल र जागरुकताको आवश्यकता पर्दछ । अहिले पर्यटन क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव चुलिँदै गएको छ । जलवायु परिवर्तनले हाम्रा पर्यटकीय क्षेत्रहरु प्रभावित भइरहेका छन् ।

पर्यटन उद्योग सिङ्गो प्रकृतिको र पूर्णरुपमा सेवामा आधारित व्यवसाय भएकाले अन्य उद्योग व्यवसायको तुलनामा यसको विकास र प्रवद्र्धन बढी चुनौतिपूर्ण हुनुका साथै सम्वेदनशील पनि छ । कुनै एक पक्षमा आएको परिवर्तनले अर्को पक्षमा तुरुन्त असर पार्छ । जस्तो यातायात व्यवसायी, हवाई उड्डयन, ट्राभल एजेन्सी, होटल व्यवसायी, पर्यटकीय स्थलसँग सम्बन्धित अन्य क्षेत्रहरु आदि मध्ये कुनै एकमा तलमाथि भयो भने यसले पुरै पर्यटन उद्योगमै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पार्दछ । तर, हामीले अहिलेसम्म पर्यटन क्षेत्रमा गम्भीर र भयावह समस्या निम्त्याउन सक्ने जलवायु परिवर्तनको विषयलाई उठान गर्न सकिरहेका छैनौँ । जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा गम्भीर असर पार्न सक्छ भन्नेमा अहिलेसम्म हामीले सामान्य आँकलन समेत गर्न सकिरहेका छैनौँ ।

मध्य तथा सुदूरपश्चिमको पर्यटनको अवस्थालाई मात्रै हेर्ने हो भने पनि अहिले जलवायु परिवर्तनको उच्च समस्याबाट यहाँका पर्यटन व्यवसायी, पर्यटकीय क्षेत्र कुनै न कुनै रुपमा प्रताडित भइरहेका छन् । पर्यटन उद्योगको सन्तुलित व्यवस्थापनका लागि जलवायु संरक्षणका क्षेत्रमा क्रियाशिल संघसंस्था तथा विज्ञहरुको सल्लाह र सुझाव अनुसार उपयोगी र प्रभावकारी कार्यक्रम तथा रणनीति तय गरी सरकारी र नीजि क्षेत्रलाई एकठाउँमा उभ्याएर दृढताका साथ पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा अघि बढाउनु पर्ने अहिलेको अनिवार्य आवश्यकता बनेको छ । मौसममा आएको फेरदवलका कारण हाम्रा पर्यटकीय क्षेत्रहरु क्षतिग्रष्त भइरहेका छन् । पर्यटकका लागि मौसम अनुसार वातानुकुलित बासको व्यवस्थाको अभाव भइरहेका छन् ।

हाम्रा नियमित पर्यटकीय कार्यहरु प्रभावित भइरहेका छन् । हामीले चाहेर पनि पर्यटन प्रवद्र्धनका लागि विगतदेखि गर्दै आएका नियमित कार्यहरु प्रभावित भइरहेका छन् । हामीले पर्यटन प्रवद्र्धनका लागि महत्वाकांक्षी योजनाहरु बनाउँदा जलवायु परिवर्तनले पारेका सुक्ष्म समस्याहरुका बारेमा ध्यान दिइरहेका छैनौ । यसले हाम्रो पर्यटन उद्योगलाई आगामी दिनमा पार्ने प्रभावका बारेमा छलफल चलाउन सकेका छैनौ । हामीले हिजोका दिनमा जे जसरी छलफल र बहसहरु चलाइरहेका छौ, ति छलफल र बहसहरुलाई अब जलवायु परिवर्तनसँग जोडेर अघि बढ्नुपर्ने आजको आवश्यकता हो । नेपालजस्तो आर्थिकरुपले विपन्न र भौगोलिक रुपले विकट देशका लागि विश्वका अन्य विकसित र सम्पन्न देशहरुसँग प्रतिस्पर्धा गर्नु सहज छैन ।

पर्यटकीय दृष्टिकोणले नेपाल प्राकृतिकरुपमै पूर्ण रहेको अर्थात् अतिरिक्त लगानीको आवश्यकता नपर्ने सानो मुलुक भएकाले र अर्थतन्त्र तथा जनसंख्याका आधारमा नेपालका लागि पर्यटन बजार खोज्न टाढा पुग्नुपर्ने आवश्यकता नपर्ने देखिन्छ । तर जलवायु परिवर्तनबाट हाम्रा पर्यटकीय क्षेत्रहरुलाई कसरी सुरक्षित र भरपर्दो बनाउनुपर्छ भन्नेमा राज्यस्तरबाटै बहसहरु चलाउनुपर्ने अहिलेको आवश्यकता हो । यद्यपी निजी क्षेत्र यसबाट टाढा बस्नुपर्छ भन्ने होइन, निजी क्षेत्रले पनि यसका लागि अभियान नै सञ्चालन गर्नुपर्ने जरुरी छ । सैद्धान्तिक आधारमा आन्तरिक तथा बाह्य पर्यटनको बजार प्रवद्र्धनमा खासै भिन्नता नभए पनि क्षेत्रगत कार्यगत आर्थिकभार समय निरन्तरता तथा प्रतिवद्धता आदिका आधारमा तुलनात्मक रुपले बाह्य पर्यटन बजार प्रवद्र्धन कठिन र चुनौतीपूर्ण देखिन्छ ।

अहिले हामीले कल्पना नगरेको जलवायु परिवर्तनले थप कठिन र चुनौतीपूर्ण बनाएको छ । पर्यटनको बजार प्रवद्र्धनलाई अकल्पनीयरुपमा जलवायु परिवर्तनले गाँज्दै गरेको तथ्यलाई हामीले ध्यान दिन सकिरहेका छैनौ । पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्थाहरु सरकारी तथा नीजि क्षेत्रका संघसंगठनहरुमार्फत पर्यटनसम्बन्धी कार्यक्रम चलाएर पर्यटनको बजार प्रवद्र्धन गर्न गराउन सकिन्छ । यस्ता नियमित र आकस्मिक रुपमा गरिने प्रवद्र्धनका कार्यक्रमहरुमा जलवायु परिवर्तनका विषयमा बहस गर्नुपर्ने पनि अहिलेको महत्वपूर्ण आवश्यकता देखिन्छ । हामीले तुलनात्मकरुपमा पर्यटकलाई सहजरुपमा पर्यटकीय क्षेत्रको घुमफिरलाई लम्ब्याउन जलवायु परिवर्तन विषयमा सम्बन्धीत क्षेत्रमा पारेको प्रभाव र त्यसको बस्तुस्थितिका बारेमा जानकारी दिन सक्नुपर्छ ।

नेपालको पर्यटकीय स्थलहरु तथा पर्यटनसम्बन्धी कार्यक्रमहरु र त्यस क्षेत्रको जलवायुको अवस्थाका बारेमा प्रभावकारी ढंगले जानकारी दिएर र सम्भव भएसम्म पर्यटकीय क्षेत्रको जलवायु सम्बन्धी तस्वीर, ब्रोसर, भिडियो उपलब्ध गराइ प्रभावित पार्ने र ती क्षेत्रमा जान चाहने समुहलाई सकेदेखि आफैं नेतृत्व गर्ने नसके उक्त कार्यक्रमसँग सम्बन्धित होटल व्यवसायी, ट्राभल एजेन्ट तथा टुर अप्रेटरसम्म पुर्याई मध्यस्थकर्ताको रुपमा कार्य गरी पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष सहयोग पुर्याउन सकिन्छ । नेपाल आफैमा पर्यटन विकासको सम्भावना बोकेको देश हो । पर्यटनलाई आकर्षण गर्नका लागि प्रकृतिले थुप्रै हिमश्रृंखला, विभिन्न नदीनाला, हरिया अग्ला चुचुरा तथा तराईका समतल फाँट निशुल्क प्रदान गरेको छ । त्यसमा पनि यस क्षेत्रमा भएका थुप्रै धार्मिक मठमन्दिर, विविध साँस्कृतिक तथा बहुभाषीक परम्पराले गर्दा पर्यटकको मनै बहकाउने गर्दछ । यस्ता पर्यटकीय क्षेत्रहरुमा जलवायुले पारेको असरहरुलाई कम गर्नका लागि हामी थोरै मात्र सक्रिय भयौँ भने हामीले पर्यटकको आकर्षणलाई बढाउन सक्छौँ । यसले छोटो समयमा नै नेपालको अर्थतन्त्रले फड्को मार्न सक्छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार ०९:४७

सिफारिस