सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको सुइया क्षेत्रमा जङ्गली जनावरको चोरी सिकार बढ्यो

राप्तीपारि सुइया क्षेत्रमा सिकारीले मारेको जरायो र चित्तल ।

बाँके । बाँकेमा पछिल्लो समय जङ्गली जनावरको चोरी सिकार गर्ने क्रम बढ्दै गएको छ । बाँके निकुञ्जको स्थापना भएपछि निकुञ्ज वरिपरिका क्षेत्रमा जङ्गली जनावरहरू बढ्दै गएकोले चोरी सिकार गर्नेहरू पनि सक्रिय भएका हुन् । जिल्लाको राप्तीपारि सुइयामा जङ्गली जनावर चोरी सिकारी गर्ने गिरोहले मारेको अवस्थामा दुईवटा जरायो र चित्तल सुइया रेन्जपोष्टले बरामद गरेको छ ।

सुइयाको खेतमा शुक्रबार वयष्क जरायो घाँटी काटिएको अवस्थामा रेन्जपोष्ट सुइयाले फेला पारेको थियो । जरायो मारेर घाँटी काट्दै गरेको अवस्थामा रेन्जपोष्टका कर्मचारीहरूले सूचना पाएपछि चोरी सिकार गर्ने गिरोहको पिछा गर्दा तस्करहरू जरायो छाडेर भागेको जिल्ला वन कार्यालयले जनाएको छ । करिब ४५ किलो तौल भएको उक्त जरायो रेन्जपोष्टले जिल्ला वन कार्यालय पठाएको छ ।

जिल्ला वन कार्यालयले जरायो वन परिसरमा स्थानीय वडा नम्बर १० का सदस्य नरबहादुर विष्ट लगायतको रोहवरमा खाल्टो खनेर पुरेको छ । त्यसैगरी शुक्रबार नै नरैनापुर गाउँपालिका वडा नम्बर ५ मटेहियास्थित जङ्गलमा मरेको अवस्थामा एउटा चित्तल पनि फेला परेको सुइया रेन्जपोष्टले जनाएको छ । त्यसरी फेला परेको चित्तललाई पनि जिल्ला वन कार्यालय नेपालगञ्जमा ल्याएर पुरेको वन कार्यालयले जनाएको छ ।

सो चित्तललाई समेत वन्यजन्तु चोरी सिकारी गर्ने गिरोहले मारेको हुनसक्ने आशङ्का गरिएको छ । दिनहुँजसो सुइया क्षेत्रमा वन्यजन्तुको चोरी सिकारी भइरहेको सूचना बाहिर आइरहेको बेला जरायो र चित्तलजस्तै वन्यजन्तुहरू सिकारी गिरोहबाट असुरक्षित रहेको स्थानीय बासिन्दाको भनाइ छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले चोरी सिकारी गर्ने व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

उता बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले चोरी सिकारी बढेको विषयमा जिल्ला प्रहरी कार्यालयमा समेत गुनासो आएको जनाउँदै प्रहरीले विशेष अभियान सुरु गर्ने बताए । यसैगरी शुक्रबार नै नरैनापुर गाउँपालिका–५, मटेहियास्थित जङ्गलमा मरेको अवस्थामा एउटा चित्तल पनि फेला परेको सुइया रेन्जपोष्टले जनाएको छ । उक्त चित्तललाई पनि जिल्ला वन कार्यालय नेपालगन्जमा ल्याएर गाडिएको वन कार्यालयले जनाएको छ ।

सो चित्तललाई समेत वन्यजन्तु चोरी सिकारी गर्ने गिरोहल मारेको हुनसक्ने आशङ्का गरिएको छ । जिल्ला वन कार्यालय बाँकेका वन अधिकृत गणेशबहादुर खड्काले अज्ञात व्यक्तिहरूले पासो थापेर जरायो र चित्तललाई मारेको आशङ्का गरिएको जनाउँदै ती दुवै घटनाका बारेमा अनुसन्धान भइरहेको बताए । उनले चोरी सिकारी नियन्त्रणका लागि वन कार्यालयले जिल्लाका सुरक्षा निकाय र सामुदायिक वनका पदाधिकारीहरूसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार ०८:१३