सूचनाको शक्ति - The Power Of Information

        

दिल्ली क्यापिटल्सबाट सन्दीपको अनुबन्ध फुकुवा, अब अक्सनमा जानु पर्ने

काठमाडौं । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि नेपाली क्रिकेट खेलाडी  सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ। सन्दीप सन् २०२१ को आईपीएलमा छनौट हुनका लागि अब अक्सनमा जानुपर्नेछ।

आईपीएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेका छन्। आईपीएल खेलाडी अनुबन्धन (अक्सन) आगामी फेबु्रअरी दोस्रो साता हुने छ। सन्दीपलाई अर्को फ्रेन्चाइज टोलीले लिने वा नलिने भन्ने त्यही दिन टुङ्गो लाग्ने छ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को आईपीएलका लागि २० लाख भारुमा पहिलो पटक अनुबन्ध गरेको थियो। त्यस वर्षको आईपीएलमा उनले तीन खेल खेल्न पाएका थिए। जसमा पाँच विकेट लिएका थिए।

दोस्रो वर्ष सन् २०१९ को आईपीएलमा उनले ६ खेलमा आठ विकेट लिए। तर, सन् २०२० को संस्करणमा उनले कुनै पनि खेलमा मौका पाएनन्।

दिल्लीले सन्लदीपसँगै इङ्ग्ल्याण्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि फकुवा गरेको छ। त्यस्तै दिल्लीले तुषारदेश पाण्डे, किमो पाउल र एलेक्स केरी गरी ६ खेलाडीलाई फुकुवा गरेको छ।

अब दिल्लीसँग १६ खेलाडी छन्। आईपीएलको एक टीमले अधिकतम् २५ र न्यूनतम् १८ खेलाडी राख्नुपर्छ। जसमध्ये अधिकतम् आठ विदेशी खेलाडी राख्ने छुट छ।

अब सन्दीपलाई अक्सनमा अर्को कुनै टीमले बोली नलगाए उनको आईपीएल यात्रा रोकिनेछ। तर, कुनै टीमले बोली लगाए उनले यसअघि पाएको भन्दा बढी रुपैयाँ पाउने छन्। किनभने उनलाई कुनै पनि टीमले आबद्ध गरे आधार मूल्यभन्दा बढी बोली लगाउने निश्चित छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १०:३०