बाँके । बाँकेमा प्रतिनिधि सभा निर्वाचनको तयारीस्वरूपका गतिविधि सुरु भएको छ । जिल्लामा यी कार्यक्रम सञ्चालन भएसँगै आम बासिन्दामा निर्वाचनका लागि जागरुक भएका छन् । जिल्लास्थित कार्यालयले सो क्रममा फोटोसहितको मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन मतदातालाई आग्रह गरेको छ ।
बाँकेका जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले माघ १७ गतेसम्म त्रुटि सच्याउने समय तोकिएको बताउनुभयो। उहाँले उक्त समयसीमाभित्र आआफ्नो विवरण हेरेर सच्याउनका लागि सर्वसाधारणलाई अनुरोध गरिएको जनाउँदै सोबारेमा सबै स्थानीय तहलाई पनि जानकारी गराइएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा बसेको बैठकमा मतदाता नामावली अध्यावधिक गर्ने बारेमा छलफल गरिएको थियो ।
आयोगले तयार गरको नामावलीमा मतदाताले आफ्नो नाम विवरण हेर्न, अध्यावधिक गर्न, दोहोरोपन एवं त्रुटि हटाउन, हालसम्म सङ्कलित नामावलीलाई वैधानिकता प्रदान गर्नजस्ता तयारीका लागि बैठक राखिएको हो । छलफलमा जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला समन्वय समितिका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि तथा अन्य विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो ।
।