सूचनाको शक्ति - The Power Of Information

        

चितवनमा बस र ट्रक ठाेक्किँदा एकजनाकाे मृत्यु, दुईजना घाइते

चितवन। पूर्वी चितवनको राप्ती नगरपालिका-५, कालिका पेट्रोलपम्प नजिक गएराति बस र ट्रक एकापसमा ठाेक्किँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा खोटाङका ४५ वर्षीय चन्द्रबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार काठमाडौंबाट काँकडभिट्टातर्फ गइरहेको ना ७ ख २१११ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक एकापसमा ठाेक्किएकाे थियाे। ठक्करबाट घाइते भएका बसका चालक श्रेष्ठको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।

राति ११ बजे भएको दुर्घटनामा बसका सहचालक रौतहट चपुर–४ बस्ने ४९ वर्षीय विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह घाइते भएका छन्।

घाइतेहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको र बसमा सवार १५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।

ट्रकका चालक इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेका छन्।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार ०८:०२