सूचनाको शक्ति - The Power Of Information

        

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ ।

सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो ।

त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाका बनाइसकेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका बनाएको हो । सो विषयमा प्रहरी प्रधान कार्यालयले अर्थ मन्त्रालय र निर्वाचन आयोगसँग समेत आवश्यक समन्वयको काम गरिरहेको छ ।

खाकाअनुसार आगामी निर्वाचनका लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ९८ हजार २ सय ६८ जना म्यादी प्रहरी भर्ना गरिएको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त कुँवरले करिब १ लाखको संख्यामा म्यादी प्रहरीको भर्ना आह्वानको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार फागुनको दोस्रो वा तेस्रो साता भर्ना आह्वान हुनेछ ।

प्रहरी प्रवक्ता कुँवरले म्यादी प्रहरीलाई प्रहरी जवानको बराबर तलब र रासन भत्ता उपलब्ध गराइने बताए । विगतको निर्वाचनमा भने म्यादी प्रहरीलाई एक जना बराबर मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब निर्धारण गरिएको थियो ।

यसैगरी म्यादी प्रहरीलाई तलबबाहेक पोसाक र प्रहरी जवानकै बराबर रासन भत्तासमेत प्रदान गरिएको थियो । प्रहरीले म्यादीमा भर्ना आह्वान गर्दा उनीहरूको कार्यावधि तोक्ने गरेको छ । राजधानी

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार ०८:२१