सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाविरुद्धको खोपको असमान वितरणले थप विपत्ति निम्त्याउँछः डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले असमान कोभिड खोप नीतिका कारण कोराना नियन्त्रणमा अपेक्षाअनुसार सफलता हासिल नभएको जनाएको छ ।

डब्लुएचओका प्रमुख टेड्रेस अडानोम गेबेरियससले धनी राष्ट्रका सक्षम मानिसले खोपमा प्राथमिकता पाउँदा गरिब राष्ट्रहरुमा कोराना नियन्त्रणको प्रयास असफल भएको टिप्पणी गर्नुभयो ।

उहाँले गरिब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु उचित नहुने बताउनुभयो । अहिलेसम्म विश्वमा तीन करोड ९० लाख डोज खोप दिएको र त्यो ४९ वटा धनी देशका मानिसले पाएको भन्दै प्रमुख गेब्रियससले यसबाट थप चुनौतीहरु आउने बताउनुभयो ।

हालसम्म चीन, भारत, रुस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । यी सबै देशहरुले आफ्नो देशका नागरिकलाई प्राथमिकतामा राखेका छन् ।

कोरोनाविरुद्धको खोप वितरण समान नरहेकाले यसको मूल्य तत्काल गरिब देशले चुकाउनुपर्ने भन्दै डब्लुएचओले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन् बढ्ने र प्रतिबन्धहरुमा कारण आर्थिक समस्या डरलाग्दो हुने चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वमा खोपको बाँडफाँड गर्न यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि प्रतिबद्धता आह्वान गरेको छ । जुन कार्यक्रम अर्को महिना सुरु हुनेछ ।

डब्लुएचओले आगामी अप्रिल ७ तारिखमा विश्व स्वास्थ्य दिवस मनाउँदा सबै देशहरुमा खोप अभियान सुरु भएको हुने अपेक्षा गरेको छ । एजेन्सी

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार ०८:१६