सूचनाको शक्ति - The Power Of Information

        

संगीतकार गणेश परियारको निधन

काठमाडौं । नेपालको पहिलो संगीत संयोजक, संगीतकार एवं वाद्यवादक गणेश परियारको निधन भएको छ । ७६ वर्षका परियारको आइतबार निधन भएको संगीतकार शम्भुजित बाँस्कोटाले जानकारी दिए ।

केही समयदेखि विमारी रहेका परियारको छातीमा खराबी देखिएपछि पछिल्लो समय उपचारका लागि ओम अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन बास्कोटाले बताए ।

रेडियो नेपालमा दुई दशकभन्दा बढी काम गरेका उनी नेपालको पहिलो संगीत संयोजन गर्ने व्यक्ति थिए । गायक, संगीतकार, भ्वाइलिनवादक आदिका रुपमा पनि उनलाई चिन्ने गरिन्छ ।

आर्मीमा हवल्दारसम्म भएपछि संगीतकर्मका लागि जागिर छोडेका उनी सेक्सोफोन र गिटार समेत बजाउँथे । ०२४ सालमा रेडियो नेपालमा स्थायी जागिर सुरु गरेका उनले  करारको रुपमा भने २०१९ सालदेखि नै रेडियो नेपालमा वाद्यवादकको काम थालेका थिए ।

संगीत, संगीत संयोजनबाहेक उनी लय तथा शब्द संकलन पनि थिए । ०५० साल उनी म्युजिक डाइरेक्टर–एरेन्जरका रुपमा म्युजिक नेपालसँग आवद्ध भएका थिए । अरूणा लामा, देव बज्राचार्य, ज्ञानु राणा, शिवनारायण जोशी, प्रेम खत्री, वीरेन्द्र पाठक लगायतका संगीतकर्मीसँगको संगत उनको जीवनमा बिषेश रह्यो ।

नातिकाजी, शिव शंकर, बच्चु कैलास, गोापल योन्जन, धर्मराज थापा, शम्भुजित बाँस्कोटालगायत नेपालका अधिकाम्स संगीतकारको संगीत संयोजन उनले गरेका छन् । अहिले संगीत सांयेजन गर्दै आएका संगीतकार मनोहर सुनाम उनका जेठो छोरा हुन् ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार ११:२८