सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

अख्तियारमै भ्रष्टाचार, ‘स्टिङ अप्रेसन’को तीन लाख रुपैयाँ अझै ‘गायब’

बाँके । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा कार्यरत टाइपिष्ट नायब सुब्बा कुमार पाठकलाई २०७६ साल बैशाख २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्यो । घुस लेनदेन गरिरहेको अवस्थामा नेपालगन्जस्थित चारबाहिनी चोक नजिकै रहेको श्री लयर्स चेम्बरबाट पाठकलाई पक्राउ गरेको थियो ।

नायब सुब्बा पाठकले अदालतमा विचारधीन मुद्दामा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेपछि उनलाई उनलाई पिछा गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जको टोलीले रु.तीन लाख घुस रकमसहित रंगेहात गरेको भन्दै विज्ञप्ती निकालेको थियो ।

तर, तीन लाख रुपैयाँ घुससहित नायब सुब्बा पाठकको साथमा उक्त रकम फेला परेन । ‘स्टिङ अप्रेसन’का लागि भन्दै प्रयोग गरिएको तीन लाख रुपैयाँ अहिलेसम्म पनि अख्तियारले तीन लाख रुपैयाँ फेला पार्न सकेको छैन । न त रकम निकासा गर्ने कर्मचारीलाई नै अख्तियारले कारबाहीको दायरामा ल्याउन सकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगन्जका तत्कालिन प्रमूख गणेश गैरे र केही कर्मचारीको मिलेमतोमा उक्त रकम ‘गायव’ गरिएको अख्तियार स्रोतले जनाएको छ । ‘तीन लाख रुपैयाँसहित पक्राउ गरेपछि रकम हराएको भनिएको छ । यसमा अख्तियारका कर्मचारीको मिलेमतो नभएर रकम हराउने कुरै हुँदैन ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल सम्पर्क कार्यालय, नेपालगन्जका प्रमूख भेषराज रिजालले पाठक लगायत अन्य दुई जनामाथि मुद्दा चलिरहेको बताए । तर उनले रकम फेला पारे नपरेको आफूलाई थाहा नभएको बताए । ‘हराएको रकम भेटिएको छैन, तर अदालतले विगो र जरिवानाबाट रकम असुली गर्छ,’ प्रमूख रिजालले सत्यपाटीसँग भने ।

उक्त घटनासँग जोडिएका तत्कालिन कर्मचारीलाई कारबाही हुन्छ कि हुँदैन भन्ने सत्यपाटीको प्रश्नमा उनले कर्मचारीको दोष देखिएको अवस्थामा कारबाही हुने भए पनि कर्मचारी कहिँकतै दोषी नदेखिएको र त्यस विषयमा आफूलाई थाहा नभएको भन्दै पन्छिए । तर, रंगेहात पक्राउ परेका भनिएका पाठकसँग उक्त रकम फेला नपरेपछि अख्तियारले मुद्दा हार्ने निश्चित छ ।

त्यतिबेला अदालतको मुद्दा मिलाउन पाठकले घुस मागेको जानकारी गराएपछि ‘स्टिङ अप्रेसन’ गराउन भन्दै फोटोकपी गरेर तीन लाख रुपैयाँ दिएको थियो । अख्तियारको यही योजनाअनुसार अख्तियारको टोलीले सेवाग्राही र पाठकलाई निगरानी थाल्यो । नेपालगन्जको चार बाहिनी चोकमा रहेको श्री लयर्स च्याम्बरमा सेवाग्राहीले घुस दिएकै अवस्थामा पाठक पक्राउ परे ।

पाठकलाई तीन लाख घुस रकमसहित पक्राउ गरेको भन्दै अख्तियारको नेपालगन्ज कार्यालयले नियन्त्रणमा लिएको मुचुल्कासहित केन्द्रीय कार्यालय काठमाडौं पठाइयो । तर अख्तियारले पाठकसँग रकम फेला नपारेपछि थप अनुसन्धान गर्दा पाठकले उक्त रकम आफ्ना छोरालाई दिएर फरार गराएको भन्दै अख्तियारमा खैलाबैला मच्चियो ।

तर, उक्त रकम पाठकका छोराले नभई अख्तियारकै टोलीले गायब गराएको आशंका गरिएको छ । किनभने रंगेहात पक्राउ परेका भनिएका पाठकले आफ्ना छोरालाई त्यो रकम कसरी दिन भ्याए भन्ने प्रश्न उठिरहेको छ । रंगेहात पक्राउ परेका पाठक पक्राउपछि अख्तियारको टोलीको नियन्त्रणमा हुँदाहुँदै कसरी रकम छोराको हातमा पुग्यो आशंकाका रुपमा हेरिएको छ ।

यसअघि विशेष अदालतमै कार्यरत रहेका पाठक सोही अदालतमा भ्रष्टाचार मुद्दाको अभियुक्त भएर मुद्दा खेपिरहेका छन् । वकिलको ल फर्म (नेपालगन्ज चारबाहिनी चोकस्थित श्री लयर्स च्याम्बर)बाट घुससहित रंगेहात अदालतका कर्मचारी पक्राउ परेपछि अदालतभित्र हुने भ्रष्टाचार र वकिलको संलग्नता पनि पुष्टि भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कर्मचारीविरुद्ध ‘स्टिङ अप्रेसन’ अभियान सञ्चालन गर्दै भ्रष्टाचार मुद्दा चलाउँदै आएको छ । घुस लिने कर्मचारीलाई मुद्दा चलाउन उसले सेवाग्राहीलाई घुस रकम दिँदै आएको छ । सो घुस रकम सेवाग्राहीले घुस लिने कर्मचारीलाई बुझाउने क्रममा अख्तियारको टोलीले घुस लिनेलाई पक्राउ गर्छ ।

यसका लागि उसले दिएका पैसाका नोटको फोटोकपी गरी रेकर्ड राख्दै आएको छ । यसरी घुस लिने कर्मचारीलाई उजुरीकर्ताको सहयोगमा रकम दिएर गरिने कारबाहीलाई ‘स्टिङ अपरेसन’ भन्ने गरिएको छ । तर स्टिङ अप्रेसनका लागि भन्दै अख्तियारले दिएको तीन लाख रुपैयाँ अख्तियारकै कर्मचारीको मिलेमतोमा हराए पनि उनीहरु कारबाहीबाट जोगिएका छन् ।

तीन लाख रुपैयाँ गायब हुँदा पनि तत्कालिन प्रमूख ऋषि गैरे लगायत अख्तियार नेपालगन्जका कर्मचारीहरुलाई कुनै कारबाही वा नसियत भएन । राज्यकोषको तीन लाख रकम घुस खुवाउने बहानामा हराएको भन्दै गायव पार्ने कर्मचारीसँग स्पष्टिकरण समेत नलिएपछि अख्तियारभित्र पनि भ्रष्टाचार मौलाउँदै गएको पुष्टि हुन्छ ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार १०:३६