सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोना सङ्क्रमित निको हुने दर ९६ प्रतिशत

फाइल तस्बीर

बाँके । बाँकेमा कोरोना सङ्क्रमण भई निको हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, पछिल्लो समयमा आएर जिल्लामा निको हुनेको सङ्ख्या बढ्दै गएकाले हाल आएर जिल्लामा निको हुने सङ्क्रमितको प्रतिशत ९६ भन्दा बढी पुगेको छ ।

जिल्लामा चार हजार ५३५ जनामा सङ्क्रमण पुष्टि भएको जनाउँदै फोकल पर्सन ओलीले तीमध्ये हालसम्म चार हजार ३७१ जना निको भइसकेको बताए । जिल्लामा उपचारको राम्रो व्यवस्था गरिएपछि निको हुनेहरू बढ्दै गएको जनाउँदै अहिले निको हुने प्रतिशत ९६.३८ पुगेको फोकल पर्सन ओलीले बताए ।

फोकल पर्सन ओलीका अनुसार जिल्लामा मृत्यु दर १.०६ प्रतिशत र सङ्क्रमण दर ०.७५ प्रतिशत रहेको छ । सुरुमा धेरैजना सङ्क्रमित भेटिएको बाँकेमा पछिल्लो समयमा आएर सङ्क्रमितको सङ्ख्या घट्दै जाँदा नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोभिड वार्डलाई समेत हालका लागि बन्द गरिएको छ ।

अहिले बिरामी रहेका सङ्क्रमितको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको र लक्षण नभएकाहरू होम आइसोलेसनमा रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार ३५ जनाको भेरी अस्पतालको कोभिड विशेष वार्डमा उपचार भइरहेको छ भने ५१ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार ११:०३